कर्णाली प्रदेशसभाका संसदीय समितिले बल्ल नेतृत्व पाउँदै

डिसी नेपाल
२६ असार २०७७ ७:२८

सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिले गठन भएको २७ महिनापछि बल्ल नेतृत्व पाउने भएका छन्।

प्रदेशसभा सचिवालयले यही असार २८ गते निर्वाचनमार्फत संसदीय समितिको नेतृत्व चयन गर्ने तयारी गरेको हो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण समितिले नेतृत्व पाउन सकेको थिएन।

‘मिनि संसद्’ भनिने संसदीय समितिले लामो समयसम्म नेतृत्व पाउन नसक्दा प्रदेशसभा सचिवालय र सत्तारुढ नेकपाको आलोचना हुने गरेको थियो।

कर्णाली प्रदेशसभामा विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, सामाजिक विकास र अर्थ तथा प्राकृतिक स्रोत समिति गरी चार संसदीय समिति छन् ।

प्रदेशसभाका निमित्त सचिव वीरेन्द्रबहादुर केसीले प्रदेशसभा नियमावली २०७४ को नियम १४८ बमोजिम असार २८ गते दिउँसो १ बजे समितिका अध्यक्ष पदमा निर्वाचन हुने जानकारी दिए । त्यस्तै, असार २७ गते साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्नेछ।

समितिमा हालसम्म सदस्यमध्येबाट ज्येष्ठताका आधारमा अध्यक्षता गर्ने गरिएको छ। अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षता नेकपाका अम्मरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता नेकपाका पदमबहादुर रोकाय, सामाजिक विकास समितिको अध्यक्षता नेकपाकै राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्षता नेपाली काँग्रेसका दिनबन्धु श्रेष्ठले गर्दै आएका छन् । २०७४ चैतमा विषयगत समिति गठन भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *