जाजरकोटमा बाढि–पहिरोको बितण्डा, ७ जनाको मृत्यु, ७ बेपत्ता र ५ घाइते

डिसी नेपाल
२६ असार २०७७ १७:२१

काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा बिहीबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका १२ जना मध्ये ७ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘अहिलेसम्म ७ जनाको शव फेला परेको छ। अरुको खोजी कार्य र उद्धार कार्य जारी छ। अहिले पनि वर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ।’

उनका अनुसार मृतक मध्ये ४ जनाको पहिचानसमेत भएको छ। मृत्यु हुनेहरुमा ५२ वर्षीय गोपाल सार्की, उनका छोरा ११ वर्षीय अर्जुन, २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्की छन्।

अन्य तीनवटा शवको पहिचान हुन नसकेको डीएसपी श्रेष्ठले जानकारी दिए। उनले सार्की गाउँमा पहिरोमा परी अन्य पाँचजना वेपत्ता रहेको जानकारी दिए। सार्की गाउँमा ५० वर्षीया पुष्पा सार्की, १३ वर्षीया उनकी छोरी लक्ष्मी सार्की, कालु सार्की, उनकी १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र ६ वर्षीय छोरा सुवास वेपत्ता छन्। २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की र १६ वर्षीया कविता सार्की वेपत्ता छन्।

उनका अनुसार जाजरकोटका अन्य स्थानमा पनि बाढि र पहिरोले क्षति गरेको छ। बारेकोट गाउँपालिकाको वडा नम्बर ६ मा पाँच जनालाई खोलाले बगाएको छ। ती मध्ये २ जना वेपत्ता छन् भने ३ जना घाइते भएका छन्। यस्तै बारेकोट गाउँपालिकाको वडा नम्बर ४ मै अर्को एक घर भत्एिको छ। यहाँ २ जना घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *