विदेशमा अलपत्र नेपाली फर्काउन हुँदै आएको चार्टर्ड उडान साउन ६ सम्ममात्र हुने

बिनेश खनाल
२ साउन २०७७ १७:४०

काठमाडौँ। कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपाली फर्काउन हुँदै आएको चार्टर्ड उडान बन्द हुने भएको छ। साउन ७ गते बुधबारदेखि कुनै पनि चार्टर्ड उडान नहुने पर्यटन, नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराईले डिसी नेपाललाई जानकारी दिए ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकतामा राखेर स्वदेश फर्काउने निर्णय गरेको थियो। सोही निर्णय अनुरुप जेठ २८ गतेबाट विभिन्न एयरलाइन्सका चार्टर्ड जहाजमार्फत नेपाली ल्याउन सुरु गरिएको थियो।

पहिलो चरणमा उडाइएका १७५ वटा चार्टर्ड उडानमार्फत असार २८ गतेसम्म साढे २७ हजार नेपाली स्वदेश आएका थिए। त्यसपछि सरकारले दुई दिनका लागि स्वदेश फिर्ती उडान स्थगित गरेर फेरि नेपाली ल्याउन सुरु गरेको छ। दोस्रो चरणका लागि सरकारले थप ४२ चार्टर्ड उडान तय गरेको थियो। यो एक हप्ताको अवधिमा विदेशका विभिन्न ६ देशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइनेछ।

मन्त्री भट्टराईका अनुसार दोस्रो चरणमा तय भएका सबै जहाजले मंगलबारसम्म उडान भरिसक्नेछन्। ‘साउन ६ गतेसम्म सबै जहाजले उडान गरिसक्नेछन,’ उनले भने, ‘त्यसपछि कुनै पनि चार्टर्ड उडान हुनेछैनन्।’ तर, अत्यावश्यक परेमा भने उच्चस्तरीय बैठक गरेर उडानका लागि अनुमति दिइने उनले बताए ।

कोरोना महामारीका कारण विदेशमा अझै हजारौँ नेपाली अलपत्र अवस्थामा छन्। रोजगारी बन्द भइ आम्दानीको श्रोत गुमाएका उनीहरु जतिसक्दो छिटो घर फर्कन चाहन्छन्। सरकारले सीमित संख्यामा चार्टर्ड जहाज उडाइरहेकोले अलपत्र अवस्थामा रहेका धेरै नेपाली स्वदेश फर्कन पाएका छैनन्।

स्वदेश फर्कनको लागि जहाज कुरेर बसिरहेका उनीहरुलाई सरकारको यो निणर्यले झन् समस्या थप्नेछ। सरकारले विदेशस्थित नियोगहरुमा साउन ६ गतेपछि चार्टर्ड उडान नहुने भनेर सर्कुलर गरिसकेको छ। तर, विदेशमा रहेका दूतावासहरुले यसको जानकारी अझैसम्म उनीहरुलाई दिएका छैनन्।

स्वदेश फर्कनको लागि विदेशस्थित नेपाली दूतावासको सूचीमा अझै हजारौँ पीडित नेपालीको नाम छ। साउन ६ गतेसम्मका लागि तय भएका उडानमा केही नेपाली स्वदेश आउन सक्ने भए पनि अझै थुप्रै नेपाली उतै रहनेछन्। उनीहरुसँग कमर्सिर्यल फ्लाइट कुर्नुको बिकल्प हुनेछैन्। त्यसैले उनीहरु झन् बढी समस्यामा पर्नेछन्।

भदौ १ गतेदेखि अन्तराष्ट्रिय उडान सुचारु गर्ने तयारी

यसैबीचमा सरकारले लामो समयदेखि बन्द रहेको अन्तराष्ट्रिय उडान सुचारु गर्ने तयारी गरिरहेको छ ।सरकारले चैत्र ९ गतेदेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान भदौ १ गते देखि सुचारु गर्ने तयारी गरेको हाे। संस्कृति प्रर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेका छन् ।

यो विषयमा थप छलफल पछि निर्णय लिइने मन्त्रिपरिषद स्रोतले जनाएको छ। सरकारले मुलुकमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *