कुवेतमा बसिरहेका ४० हजार प्रवासीले बसोबास अनुमति गुमाए

डिसी नेपाल
८ साउन २०७७ १०:२३

काठमाडौं। यसअघि कुवेतमा बसोवास गर्दै आएकोमा अहिले कुवेतबाट विदा वा अन्य कामले बाहिरिएका प्रवासीहरुमध्ये करिब ४० हजार प्रवासीहरु कुवेत फर्किन नपाउने भएका छन् । कोभिड–१९ को महामारीका कारण कुवेत फर्किएर आफ्नो आवासीय अनुमति पत्र नवीकरण गर्न नपाएका प्रवासीहरुको आवासीय अनुमतिको म्याद गुज्रिएकोले अब उनीहरु त्यो अनुमतिको आधारमा कुवेत फर्किन पाउने छैनन् ।

टाइम्सकुवेतका अनुसार कुवेतको सामान्य प्रशासन र आवासीय मामिलाका प्रमुख ब्रिगेडियर हमाद राशिद अल तवालाले भनेका छन् ‘अब उनीहरु नयाँ भिसा नलाग्दासम्म कुवेत फर्किन पाउने छैनन् ।’ आन्तरिक मामिला मन्त्री अनास अल सलेहले ६८ हजार प्रवासीहरुको आवासीय अनुमति र राहदानी नवीकरणमा सहजीकरण गर्नको लागि दिएको आदेशलाई उद्धृत गर्दै उनले यसरी अनुमति रद्द हुनेमा अधिकांश इजिप्सियन र भारतीय मूलका रहेको बताए ।

यो समस्या समाधानको लागि सम्बन्धित देशको दूतावासले नवीकरणका लागि सम्बन्धित कागजातमा छाप लगाउने शर्तमा नवीकरणको अनुमति दिइएको छ । सम्बन्धित देशको दूतावासको अनुमोदन हुने शर्तमा प्रवासीले कुवेतको विदेश मन्त्रालयबाट लिखित स्वीकृति पाउनेछन् । यो सुविधाले कुनै गल्ती नगरेका तर महामारीकै कारण सम्बन्धित कागजात नवीकरण गर्न नसक्नेहरुका लागि सहानुभूति हुने उल्लेख गरिएको छ । कुवेतमा ७० हजारभन्दा बढी नेपाली बसोवास गर्दै आएको मोटामोटी तथ्यांक छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *