ओली पक्षमा देखिए बामदेव, ओलीले दुवै पद छोड्न नपर्ने गरी पार्टी एकताको प्रस्ताव

डिसी नेपाल
१३ साउन २०७७ १२:३०

काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी ओलीले राजीनामा दिनु नपर्ने गरी पार्टी एकताको प्रस्ताव गरेका छन्।

उपाध्यक्ष गौतमले मंगलबार ६ बुँदे एकताको प्रस्ताव ल्याएर ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनु नपर्ने गरी पार्टी एकताको प्रस्ताव गरेका हुन्। उनले केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन्।

यसैगरी गौतमले पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने, तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गर्ने प्रस्ताव गरेका छन्।

यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ती गर्ने, संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने तथा अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने प्रस्ताव गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *