काँग्रेससँग २०१० देखि टुटेको नाता फेरि जोडियो : सुनिल थापा

डिसी नेपाल
१३ साउन २०७७ १७:४२

काठमाडौं। राप्रपा त्यागेका सुनिल थापालगायतका नेताहरु मंगलबार काँग्रेस प्रवेश गरेका छन्। काँग्रेस मुख्यालय सानेपामा मंगलबार आयोजित विशेष कार्यक्रममा थापालगायत राप्रपा त्यागेर काँग्रेस प्रवेश गरेका ४२ जना नेताहरुलाई काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वागत गरे।

काँग्रेसको सदस्यता लिएपछि बोल्दै नेता थापाले काँग्रेससँग विस २०१० देखि टुटेको सम्बन्ध फेरि जोडिएको बताएका छन्। उनले ६७ वर्षपछि फेरि काँग्रेससँग जोडिएकोमा खुशी लागेको बताए। उनले भने आफ्नो परिवार २०१०भन्दा अगाडि काँग्रेससँगै रहेको स्मरण गरे।

नेपालमा प्रजातान्त्रिक शक्ति कमजोर हुँदा अधिनायकवादी शक्ति बढेको बताए। उनले लोकतान्त्रिक शक्ति बलियो बनाउन आफू कांग्रेस प्रवेश गरेको बताए। थापा राप्रपाका संस्थापक तथा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा हुन्। सुनिल थापा राप्रपाको महामन्त्री तथा एक पटक मन्त्रीसमेत भइसकेका छन्।

थापालगायतका नेताहरुलाई स्वागत गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका छोरासमेत रहेका नेता थापालाई काँग्रेसमा स्वागत गर्न पाउँदा खुशी लागेको भन्दै अब काँग्रेसको नेतृत्वमा देश विकासको एजेण्डा अगाडि बढाइने बताए।

यस्तै थापालगायतका नेताहरुलाई स्वागत गर्दै वरिष्ठ नेता पौडेलले राप्रपाले पुनःउत्थानवादी नीति अगाडि सारेकाले थापाहरु काँग्रेसमा आएर लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा योगदान दिएको बताए। उनले देश अब कुनै राजनीतिक प्रयोगशाला बन्न नसक्ने भन्दै लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास नै काँग्रेसको मुल मर्म भएको बताए। उनले काँग्रेसको यो मुल मर्ममा सुनिल थापालगायतकाहरुसँग सँगै अगाडि बढ्ने भन्दै पार्टीमा स्वागत गरे।

थापालगायतका ४२ जना नेताहरुले मंगलबार कााग्रेस प्रवेश गरे पनि जिम्मेवारी भने तोकिएको छैन। थापालाई काँग्रेस सहमहामन्त्रीको जिम्मेवारी दिने सहमति भइसकेको काँग्रेस निकट स्रोतले जानकारी दिएको छ। अन्य पाँचजनालाई केन्द्रीय सदस्यको जिम्मेवारी पनि दिइने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *