सरकारले सञ्चालन गर्न अनुमति दिए पनि खुल्न सकेनन् तारे होटल

डिसी नेपाल
१५ साउन २०७७ १८:२२

काठमाडौं । कोरोना माहामारी नियन्त्रणका लागि सरकारले लागु गरेको देशव्यापी लकडाउन अन्त्य भएर होटल व्यवसाय सञ्चालन अनुमति दिँदा पनि खुल्न सकेका छैनन्। विश्वभर कोरोना माहामारी फैलिरहेको समयमा नेपालमा देस्रो केस देखिएसँगै गत चैत ११ गतेबाट लकडाउन शुरु भएको थियो।

लामोसमय लकडाउन भएपछि विश्वसँगै नेपालको जनजीवन पूर्ण रुपले प्रभावित भएको थियो। यसैबीच उद्योग, करकारखाना, होटल व्यवसाय, यातातात, विद्यालय, सिनेमाहल,पर्यटन क्षेत्र तथा भिडभाड हुने क्षेत्र पूर्ण रुपले अनिस्श्चित कालका लागि बन्द गरिएको थियो।

नेपालमा संक्रमितको संख्या बिस्तारै कम हुन थालेपछि सरकारले जनजीवन सामान्य अवस्थामा ल्याउन साउन ६ गतेबाट औपचारिक रुपमा बन्दाबन्दी (लकडाउन) नरहेको घोषणा गर्दै विभिन्न क्षेत्रलाई सुरक्षाका मापदण्ड अपनाई सुचारु गर्न निर्देशन दिएको थियो। त्यस्तै साउन १५ अर्थात बिहीबारबाट होटल तथा रेष्टुरेष्ट, ट्रेकिङ्ग, ट्राभल तथा पर्यटक क्षेत्र संचालनमा आएका छन्।

करिब ४ महिनाको लामो समयपछि बिहीबार होटल व्यवसाय खुल्ने अनुमति पाएपछि साना होटल, रेष्टुरेष्ट क्याफे खुले पनि अधिकांश ठूला होटल व्यवसाय सञ्चालन भएका छैनन्। अरु बेला आन्तरिक तथा वाह्य पर्यटनले अस्तव्यस्त रहने ठमेलका होटल, रेष्टुरेण्ट तथा क्याफेहरु लकडाउन खुकुलो हुँदा पनि सुनसान देखिन्छन्। प्रायः खोलिएका होटल तथा रेष्टुरेण्टहरुमा ग्राहक नआउँदा होटल व्यवसायी चितिन्त देखिन्छन् ।

ठमेलस्थित नरथफिल्ड होटलका संचालक लामो दुरीका यातायात तथा अन्तराष्ट्रिय उडान सञ्चालनमा नआउँदा ग्राहक पनि नआएको बताउँछन् । ‘लकडाउन पहिले भरिभराउ हुने होटल अहिले २, ३ जना ग्राहकमात्र आएका छन्’,उनले भने। लकडाउन हुनु पूर्व विदेशी ग्राहक होटलमा रहेका कारण बाध्यतावस होटल खोलेको उनले बताए।

ग्राहक आउने अवस्था नदेखिएपछि ठमेल मात्र होइन काठमाडौंका सानादेखि तारे होटलहरुसम्म संचालनमा आएका छैनन्। काठमाडौंका केही पुराना तथा नाम चलेका तारे होटल, द–मल्ल होटल, र्याडिसन, याक एण्ड यति र होटल अन्नपूर्ण संचालनमा आएका छैनन्।

ठमेलस्थित द–मल्ल होटलमा सरसफाई र केही भित्री मर्मतको काम चालु रहेको कारण होटलका सुरक्षा गार्ड, दुईचार जना हाउस किपर, २ जना खाना पकाउने कर्मचारी मात्र रहेको एक कर्मचारीले जानकारी दिए।

त्यस्तै र्याडिसनन होटल पनि अन्य होटल जस्तै सुनसान देखिन्छ। बिहीबार डिसी नेपाल टिम त्यहाँ पुग्दा होटलको गेट बन्द देखियो। बन्द गेटभित्र दुई जना सुरक्षा गार्ड र होटल भित्रका धाराका पाइप जडान गर्ने पलम्बर मात्र रहेको गेटमा रहेका सुरक्षा गार्डले जानकारी दिए।

यी दुई होटल जस्तै होटल अन्न्नपूर्ण र याक एण्ड यति पनि ग्राहक आउने छाँटकाट नदेखेपछि संचालनमा आएका छैनन्। होटल कहिले संचालनमा आउँछ भन्ने टुङगो नरेहेको अन्नपूर्ण होटलको गेटमा खटिएका सुरक्षा गार्ड टोकराज पाण्डेले बताए। ‘होटल भित्र कसैलाई प्रवेश गर्ने दिएका छैनौं। कर्मचारी पनि कोही आएका छैनन्,’ उनले भने, ‘होटल कहीलेबाट संचालनमा आउँछ टुङगो छैन।’

पाँच तारे होटलको मुख्य बजार अन्तर्राष्ट्रिय पर्यटक भएको हुँदा अन्तर्राष्ट्रिय उडान र त्यहाँको स्थिति सामान्य नहुँदासम्म पर्यटक कम आउने र लागत खर्च उठाउन समस्या हुने भएपछि ठूला व्यवसायीले होटल संञ्चालनमा ल्याउन सकेका छैनन्।

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेका छ। उडान खुलेपछि मात्रै विदेशी पर्यटक नेपालमा आउने र त्यसपछि ठूला होटलहरुको व्यापार पूर्ण रुपमा सूचारु हुने व्यवसायीहरु बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *