टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयबाट पछि हट्यो अमेरिका !

डिसी नेपाल
१९ साउन २०७७ ९:५८

काठमाडौं। दुई दिनअघि अमेरिकामा पनि चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउनो घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक आफ्नो पुरानो निर्णयबाट पछि हटेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पले अब सम्भावित बिक्रीका लागि कुरा टुङग्याउन टिकटकको मालिक कम्पनी बाइटडान्स र अमेरिकी कम्पनी माइक्रोसफ्टलाई ४५ दिनको समय दिने भएका छन् । पछिल्लो समय टिकटकलाई माइक्रोसफ्टले किन्ने प्रयास गरिरहेको छ ।

टिकटकको मालिक कम्पनी बाइटडान्सले एपमार्फत अमेरिकीहरुको व्यक्तिगत जानकारी लिने भएकोले यो सुरक्षाको लृष्टिले खतरापूर्ण हुने भन्दै शुक्रबार ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । त्यतिबेला माइक्रोसफ्टसँगको सम्भावित डीललाई पनि उनले बेवास्ता गरेका थिए । तर, माइक्रोसफ्टका सीइओ सत्या नडेलाले राष्ट्रपति ट्रम्पसँग छलफल गरेपछि भने ट्रम्पले केही समय दिने भएका हुन् ।

अमेरिकी अधिकारीहरुका अनुसार यो ४५ दिनको अवधिमा टिकटकलाई माइक्रोसफ्टले किनेको खण्डमा भने प्रतिबन्धको निर्णय फिर्ता हुनेछ । आइतबार माइक्रोसफ्टले एक वक्तव्य जारी गर्दै सेप्टेम्बर १५ सम्म सम्भावित डीललाई पूर्णता दिने लक्ष्य राखिएको बताएको छ । स्रोतका अनुसार ट्रम्प आफ्ना केही सल्लाहकार र आफ्नो रिपब्लिकन पार्टीका कैयौं नेताहरुको खबाबपछि आफ्नो पूर्वनिर्णयबाट पछि हटेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *