अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न छ हप्ताको समयावधि

डिसी नेपाल
२० साउन २०७७ १३:००

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन्।

राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने प्रक्रियामा रहेका छन्।

ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षाको विषय उठाउँदै टिकटक एप्स अमेरिकी कम्पनी मार्फत अमेरिकामा डाउनलोड गर्न र हेर्न पाइने व्यवस्था गर्न लागेको हो।

राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीमार्फत मात्र अमेरिकामा प्रवेश गर्न दिइने बताउँदै यस्तो कदम अमेरिकाको सुरक्षाका निम्ति चाल्नु परेको स्पष्ट गरे।

ट्रम्पले टिकटक खरिद गर्न माइक्रोसफ्टले वार्ता गरिरहेको बताए। टिकटकका अहिले विश्वभर एक अर्ब प्रयोगकर्ता रहेका छन् । खासगरी युवाबीच निकै लोकप्रिय टिकटकबाट ६० सेकेन्डका भिडियोहरु बनाएर पोस्ट गर्न सकिन्छ।

तर अमेरिकी अधिकारीहरुले लाखौं अमेरिकीका निजी गोपनीय विवरणहरुलाई चिनियाँ गुप्तचर निकायहरुले चीन लैजाने खतरा रहेको दाबी गर्दै आइरहेका छन्।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई आगामी सेप्टेम्बर मध्यसम्ममा सम्झौता गरिसक्न अमेरिकी प्रशासनले म्याद दिएको छ।

राष्ट्रपति ट्रम्पले भने, “मैले सेप्टेम्बर १५ सम्मको म्याद दिएको छु, त्यस समयभित्र कुनै सम्झौता नभए टिकटक संयुक्तराज्य अमेरिकामा बन्द हुन्छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *