बौद्धमा दिवङ्गतको परिवारका बीच रोपाइँजात्रा

डिसी नेपाल
२० साउन २०७७ २०:१८

काठमाडौं । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा मनाइने रोपाइँजात्रा सीमित मानिसका बीच गरिने भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बौद्धमा रहेका सङ्घ संस्थाले सक्रियरुपमा मनाउने सांस्कृतिक महत्वको रोपाइँजात्रा यस वर्ष कोरोना फैलन सक्ने भयले सीमित मानिसका बीच मनाउन लागिएको हो । साउन २१ गते बुधबार दिउँसो ३ बजेपछि बौद्ध चैत्य परिसरमा एक वर्षअघिदेखि दिवङ्गत भएका परिवारका सीमित सदस्यलाई मात्र छिराएर सांस्कृतिक जात्रा सम्पन्न गर्न लागिएको समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिए ।

यस वर्ष बौद्ध क्षेत्रमा २० जनाको निधन भएको तथ्याङ्क प्राप्त भएको समितिले जनाएको छ । २० परिवारका सीमित सदस्य, थोरै सङ्ख्यामा बाउसे र रोपाहारका बीच रोपाइँ जात्रा गर्न लागिएको हो । जात्राका समयमा सर्वसाधारणलाई बौद्ध चैत्य परिसर प्रवेशमा रोक लगाइने अध्यक्ष लामाले बताए ।

जात्राको विधिअनुसार बौद्ध चैत्य एक पटक घुमाएर जात्रा सम्पन्न गरिने छ । विगतमा वर्षमा यो जात्राका क्रममा सांस्कृतिक झाँकीसहित बौद्ध–चुच्चेपाटी–चावहिल–महाँकाल–तीनचुले–जोरपाटी हुँदै पुनः बौद्धमै आएर सकिन्थ्यो । यस वर्ष भने सीमित लाठे र रोपाहारका बीच लाखे नाच नचाएर जात्रा सम्पन्न गरिने छ । एक घण्टामा सबै कार्यक्रम सकिने गरी समितिले तयारी गरेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *