दुई देशबीच तनावका बीच क्यानडाली नागरिकलाई चीनमा मृत्युदण्डको सजाय

डिसी नेपाल
२२ साउन २०७७ १४:३२

बेइजिङ। क्यानडा र चीनबीच तनाव बढिरहेका बेला चीनमा एक क्यानडाली नागरिकलाई लागूऔषध केटामाइनको उत्पादन गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ । समाचार एजेन्सी एपीका अनुसार ग्वान्झाउ म्युनिसिपल इन्टरमिडिएट कोर्टले बिहीबार सु विहोङलाई मृत्युदण्डको सजाय सुनाएको हो र उनका अर्का साथी वेन ग्वान्जियोङलाई आजीवन कारावासको सजाय सुनाइएको छ । मृत्युदण्डको सजाय स्वतः रुपमा पुनरावलोकनको लागि चीनको सर्वोच्च अदालत गरेको छ ।

अदालतको फैसलामा घटनाको विस्तृत विवरण उल्लेख छैन तर घटनाबारे स्थानीय मिडियाले भनेका छन् कि सु र वेनले अक्टोबर २०१६ मा लागूऔषध केटामाइन उत्पादन गर्नको लागि आवश्यक कच्चा पदार्थ र उपकरणहरु जम्मा गरेका थिए । त्यसपछि उनीहरुले केटामाइन उत्पादन गरेर ग्वान्झाउको हाइझु जिल्लामा रहेको सुको घरमा राखेका थिए । पछि पुलिसले सुको घर र अर्को एक स्थानबाट १२० किलोभन्दा बढी केटामाइन बरामद गरेको थियो ।

२०१८ मा क्यानडाको भ्याङकुभर विमानस्थलमा चीनको प्रविधि कम्पनी हुवावेका संस्थापककी छोरी मेंग वान्झोउलाई क्यानडाले पक्राउ गरेपछि यी दुई देशबीचको सम्बन्ध बिग्रिएको छ । अमेरिकाले मेंगमाथि जालसाजीको अभियोगमा कारवाही अगाडि बढाउन चाहन्छ । उनको गिरफ्तारीलाई चीनले राजनीतिक रुपमा लिएको छ । चीनको उदयलाई रोक्नको लागि उनलाई पक्राउ गरिएको बेइजिङको बुझाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *