सुत्केरी व्यथा लागेको चार दिनसम्म भएन उद्धार

डिसी नेपाल
२७ साउन २०७७ २२:१२

सिमकोट । हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिकामा चार दिनदेखि प्रसूति व्यथा लागेकी एक महिलाको उद्धार हुन सकेको छैन । ताजाकोट –१ काँडागाउँकी २३ वर्षीया विपना खड्कालाई चार दिनअघि घरमै व्यथा लागेका अवस्थामा मैला स्वास्थ्यचौकीमा बोकेर ल्याई राखिएको भए पनि सुत्केरी हुन नसकेपछि उनी छट्पटिएको स्थानीयवासी धर्मराज जैसीले बताए।

वर्षाले बाटोघाटो बन्द भएको र टेलिफोन सेवासमेत राम्रोसँग सञ्चालन नभएपछि जिल्लामा खबर गर्न कठिन भएको जैसीको भनाइ छ । स्वास्थ्यचौकीमा सुत्केरी गराउने दक्ष जनशक्तिको अभाव र शल्यक्रियाका लागि उपकरण नहुँदा समस्या छ ।

गाउँपालिकाबाट व्यथा लागेकी महिलाको खबर आएको र हवाई उद्धारका लागि पहल भइसकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

पत्र प्राप्त हुनासाथ हवाई उद्धारका लागि गृह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसंँग उद्धारका लागि पहल भएअनुसार हेलिकप्टरको व्यवस्था हुन लागेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी अवस्थामा रहे पनि त्यहाँ पानी परेका कारण उद्धार हुन नसकेको जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *