कोरोना संक्रमणको ‘हटस्पट’ वीरगञ्जमा सेना परिचालन

डिसी नेपाल
३२ साउन २०७७ २०:०७

काठमाडौं। कोरोना संक्रमणको ‘हटस्पट’ बनेको प्रदेश २ को पर्सास्थित वीरगञ्ज महानगरपालिकाभित्र सेना परिचालन गरिएको छ। प्रहरीमा समेत कोरोना संक्रमण हुँदै गएपछि मानिसहरुको आवत जावतमा कडाई गर्न सेना परिचालन गरिएको हो।

गत साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी छ। साउन १८ देखि पर्सा जिल्ला भर नै निषेधाज्ञा जारी छ। तर प्रहरीलाई पनि कोरोना संक्रमण बढेपछि केही प्रहरीलाई क्वारेन्टाइनमा राख्नुपर्ने बध्यता आइलागेको छ। संक्रमण झन झन बढेपछि सेनालाई अघि सारिएको जिल्ला सुरक्षा समिति स्रोतले जनाएको छ। आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र सेना परिचालन गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारबाट निषेधाज्ञा थप कडाई गर्ने निर्णय गरेको छ।

‘संक्रमितको संख्या बढ्दै गएपछि मानिसहरुको आवागम र चहलपहल रोक्न आइतबारदेखि सेनालाई गस्तीका लागि परिचालन गरिएको हो’, प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने। उनका अनुसार वीरगञ्जका जनप्रतिनिधि, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, सेना र पत्रकारलगायत संक्रमित भएका छन्। संक्रमण बढ्दै गएकोले बिकराल अवस्था आएकाले त्यसलाई नियन्त्रण गर्न सेना परिचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।

‘निषेधाज्ञालाई थप कडाईका साथ लागू गर्न साउन ३२ गते (आइतबार) बिहान ५ बजेदेखि मिति २०७७ भदौं १३ गते बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालित हुने गरी निषेधाज्ञा जारी भएको, सर्वसाधारण सबैको जानकारीका लागि सूचित गरिन्छ,’ प्रमुख जिल्ला अधिकारी तामाङले जारी गरेको सूचनामा भनिएको छ।

उनका अनुसार जिल्ला सुरक्षा समितिको एक दिन अगाडि बसेको बैठकले यसको लागि निर्णय गरेको थियो। नेपाल र सशस्त्र प्रहरीलाई निषेधाज्ञामा सहयोग गर्न वीरगञ्जस्थित चण्डीप्रसाद गणबाट सेना खटिसकेको छ।

पर्सामा आइतबार बिहानसम्म एक हजार ३ सय २० जनामा कोरोना संक्रमण देखिएको छ। २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले संक्रमणको ‘हटस्पट’ बनेकाले दुई नम्बर प्रदेश कोरोनाको संक्रमणका परेको बताए। ‘यहाँ अहिले निकै कठिन भएको छ, मानिसहरुलाई बाहिर हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ। नागरिक नै बढी सचेत हुनुपर्ने छ’, डीआइजी सिंहले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *