सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयमा समाचार कम प्रकाशित

डिसी नेपाल
३ भदौ २०७७ १९:१९
12
Shares

काठमाडौं। नेपालका पत्रपत्रिकाले अझैपनि बृहत्तर यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयलाई कम प्राथमिकता दिएको पाइएको छ।
राइट हेयर राइट नाउ को सहयोगमा युवालयले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म नेपालका १० वटा दैनिक पत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको सर्वेक्षणका क्रममा यस्तो पाइएको हो।

बृहत्तर यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयमा गरिएको सर्वेक्षणका क्रममा अन्यको तुलनामा बृहत्तर यौनिकता शिक्षासँग सम्बन्धित बिषयमा समाचार बढी प्रकाशित भएको पाइएको छ। एक बर्षको अवधिमा यस बिषयमा २९२ वटा समाचार प्रकाशित भएको सर्वेक्षणले देखाएको छ । एक बर्षको अवधिमा प्रकाशित समाचारहरुमा ७५ प्रतिशत बृहत्तर यौनिकता शिक्षा सम्बन्धित समाचार प्रकाशित भएको देखिएको छ भने वैवाहिक समानताका बिषयमा ८ प्रतिशत तथा सुरक्षित गर्भपतन सम्बन्धी ४ प्रतिशत समाचार प्रकाशित भएको देखिएको छ। यसैगरी यससँग सम्बन्धित अन्य समाचारहरु १३ प्रतिशत प्रकाशित भएको समेत सर्वेक्षणका क्रममा देखिएको छ।

प्रतिवेदनका बारेमा बोल्दै युवालयका अध्यक्ष सन्तोष महर्जनले पत्रपत्रिकामा प्रकाशित समाचारहरु मध्ये यी बिषयमा समाचार अझैपनि प्राथमिकतामा पर्न नसक्नुमा बिषयबस्तुको गम्भीरताका बारेमा पर्याप्त बहस र छलफल हुन नसक्नुले भएको बताए। उनले भने, ‘सुरक्षित गर्भपतनका बारेमा विद्यमान कानुनी प्रावधानका बारेमा पर्याप्त जानकारी नहुँदा असुरक्षित गर्भपतन धेरै हुने गरेको छ।’

यस्तै वैवाहिक समानताका बारेमा ब्लू डाइमण्ड सोसाइटीका कार्यक्रम संयोजक अनुज पिटर राईले नेपालमा अझै पनि यस बिषयमा कानुनी व्यवस्था नहुँदा यो बिषयमा जटिल समस्याहरु देखा परेको बताए। राईले भने, ‘समाजले हेर्ने दृष्टिकोणका कारण लैङ्गिक अल्पसंख्यकहरु विभिन्न खालका जटिल समस्यामा पर्ने गरेका छन् । कतिपयले समाजबाट पाउने अपहेलना र दुव्र्यवहारका कारण आत्महत्या समेत गर्ने गरेका छन्।’

हाल प्रकाशित दैनिक पत्रिकाहरु दि हिमालयन टाइम्स, दि काठमाण्डौ पोष्ट, रिपब्लिका, अन्नपूर्ण पोष्ट, दि राइजिङ नेपाल, गोरखापत्र, नेपाल समाचारपत्र, नागरिक, राजधानी तथा कान्तिपुरमा प्रकाशित समाचारलाई सर्वेक्षण गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.