रेखा थापाकाे अनुराेध : अनुशासित भएर घर मै बसाैं

डिसी नेपाल
५ भदौ २०७७ १४:२५
4
Shares

सबै भन्दा पहिला त म हरितालिका तीजको सम्पूर्णमा शुभकामना दिन चाहन्छु। साथै मलाइ जन्मदिनको शुभकामना दिनेहरुलाई पनि धन्यवाद भन्न चाहन्छु।

अहिले विश्व नै संकटमा छ। पृथ्वी विरामी छ। मानव र प्रकृतिबीचको युद्ध चरम उत्कर्षमा छ। विश्वमै साम्राज्य जमाउने देशहरु पनि कोरोनाको अगाडि घुँडा टेक्न बाध्य छन्।

करोडौं मानिस संक्रमित छन्। लाखौंले ज्यान गुमाएका छन्। नेपालमा पनि कोरोनाको प्रभाव वढ्दो छ। बढ्दो कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरु सराहनीय छन्।

कोरोनाका कारण हाम्रा संस्कृतिले पनि चुनौती सामना गरिरहनु परेको छ। तीज पनि कोरोना महामारीकैबीच पर्यो। हामीले तीजलाई आफ्नो अनुकुल मनाउन पाएनौं। म त दुःखी छैन।

र, अरु दिदी बहिनीहरुलाई पनि दुःखी नहुनुहोस् भन्न चाहन्छु। तीज अर्को वर्ष आउँछ। तर, ज्यान फर्किँदैन। संस्कृति जीवित रहनका लागि पनि हामी जीवित हुन नितान्त आवश्यक छ। त्यसैले, यसपालिको तीज मनाउन पाइएन भनेर दुःख नमान्नु होला।

तीज भन्दा पनि अझै महत्वपूर्ण कुरा हो, निषेधाज्ञा। मैले देखेको छु लकडाउनमा धेरैले सरकारले दिएको निर्देशनको पालना गरेनन्। हाम्रो स्थिति भयावह बन्दै गयो। अझै पनि हामीले यस्ता विषयमा ध्यान दिएनौं भने फेरि अर्को भयावह अवस्था भोग्नु पर्नेमा कुनै दुविधा छैन।

अझै पनि विनम्र अनुरोध छ मेरो अत्यावश्यक काम नपरेसम्म बाहिर निस्किँदै ननिस्किनुहोस्। आफूलाई सुरक्षित राख्नुहोस्। देशलाई माया गर्ने सच्चा देशभक्त भन्नेहरुले र आफूलाई देशभक्त नागरिक भन्नेहरुले असल र देशभक्त नागरिकको परिचय दिने बेला आयो। आज तपाईँले गरेको कार्यको युगले मूल्यांकन गर्ने छ।

यस्तो बेलामा धेरै मान्छे मनोरोगी हुन्छन्। धेरैलाई टेन्सन हुन्छ। धेरै डिप्रेसन हुने हुँदा हामीले हाम्रा वरपरका मान्छेहरुलाई सुनिदिनु पर्छ। उनीहरुको पीडामात्र सुनिदियो भने पनि आधा सन्चो हुन्छ। उनीहरुलाई सुनिदिउँ।

उनीहरुलाई डिप्रेसन हुनबाट बचाउँ। मैले हृदयदेखि नै सबैलाई गरेको अनुरोध हो यो। कृपया, हरेकले हरेकलाई सहयोग गरौं। बोली दिएमात्र पनि पग्छ। सरकारले पनि भौतिक दुरी कायम गर्ने भनेको हो। सरकारले पनि त मनको दुरी गराउ भनेको त छैन।

मैले देखेकी छु, जीवनको मूल्य नबुझ्नेहरु नै बाहिर आएका छन। उनीहरुलाई पनि मेरो अनुरोध छ, तपाईँलाई आफ्नो जीवनको प्रवाह नभए पनि एक पटक तपाईँलाई जन्म दिनेलाई र तपाईँले जन्म दिएकाहरुलाई हेर्नुहोस्। उनीहरुलाई तपाईँको कारण कति समस्या छ।

हामी जहिले पनि सरकारलाई दोष दिन्छौं। सरकारले यो गरेन, त्यो गरेन। कहिले कतै सरकारले गरेका निर्णयहरु पनि हाम्रै लागि हुन भन्ने बुझ्नु पर्छ। हामी केटाकेटी हुँदा धेरै पटक आमा बुबाले गरेका धेरै व्यवहार अपाच्य भए।

जव हामी आमा बुबा भयौं त्यही व्यवहार छोराछोरीलाई गर्यौं उनीहरुलाई पनि अपाच्य नै भयो अनि बल्ल आफ्ना आमा बुबाको याद आयो। सरकारले पनि अहिलेको अवस्थामा आमा बुबाकै भूमिका निभाएको हो।

हामीले यस्तो बेला आमा बुबालाई सम्झेर यो निर्णय ठिक छ भन्दै सकारको नियमलाई फ्लो गर्नु अत्यावश्यक छ। सच्चा नागरिकको परिचय दिने बेला आयो।

धेरै मान्छेहरु संक्रमित छन्। पहिलेको जस्तो अवस्था छैन। अस्पतालमा बेड छैन। हामी जटिल अवस्थामा छौं। हामीले यस्तो बेलामा लापरवाही गर्नु भनेको आफ्नै खुट्टामा आफैंले बन्चरो हान्नु हो। आफैले आफैंलाई ज्यान मार्ने सजाय दिनु हो। अझै पनि विनम्र अनुरोध छ मेरो अत्यावश्यक काम नपरेसम्म बाहिर निस्किँदै ननिस्किनुहोस्।

आफूलाई सुरक्षित राख्नुहोस्। देशलाई माया गर्ने सच्चा देशभक्त भन्नेहरुले र आफूलाई देशभक्त नागरिक भन्नेहरुले असल र देशभक्त नागरिकको परिचय दिने बेला आयो। आज तपाईँले गरेको कार्यको युगले मूल्यांकन गर्ने छ।

अन्त्यमा, एउटा कलाकार, एउटा दिदी, एउटा बहिनी तपाईँले मलाई जे भनेर चिन्नु हुन्छ। मेरो एउटैमात्र अनुरोध हो हरेकले स्वस्थ भएर बाँच्नु पर्छ। हामीले यो रोगको एकजुट भएर सामना गर्नु पर्छ। प्रकृति र मानवबीचको महा युद्धको डटेर सामना गरौं। घरभित्र नै बसिदिउँ।

तपाईँ घरभित्र बसेर पनि डाक्टर, आर्मी पुलिसलाई ठूलो सहयोग हुन्छ। हाम्रैलागि रातदिन नभनेर ड्यूटीमा खटिएका सम्पूर्ण योद्धालाई हामीले संसारको कुनैपनि रत्न दिएर उनीहरुको कामको सम्मान गर्न सकिँदैन।

उनीहरुलाई पुरस्कृत गर्ने संसारको कुनैपनि कुरासँग शक्ति छैन। छ त केवल तपाई हाम्रो अनुसासन सँग। तपाईँ हामीले घरमा बसेर दिएको समयसँग। तपाईँ हाम्रो भावनासँग। त्यसैले आउँनुहोस्, घरमै बसेर कोरोना विरुद्धको लडाईँमा पहिलो पंक्तिमा लडिरहेका सम्पूर्ण योद्धाहरुलाई सहयोग गरौं।

नायिका थापासँग डिसी नेपालका तर्कबहादुर थापाले गरेकाे कुराकानीमा आधारित


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *