नेपालीका बच्चालाई संस्कार सिकाउँंदै टेक्सासको नेपाली स्कूल
टेक्सास, अमेरिका । नेपाली समाज टेक्सासले संचालन गरेको नेपाली स्कूलमा यसपालिको समरमा २०६ जना नेपाली मुलका विद्यार्थीहरु भर्ना भई समर कोर्स पुरा गरेका छन् । अगष्टको पहिलो सातादेखि ९ दिनसम्म चलेको पछिल्लो क्याम्पमा अध्यात्मिक र सांस्कृतिक विषयमा नेपाली मुलका विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।
स्कूलका प्रिन्सिपल विजयराज भट्टराईका अनुसार, सन् २०२० को नियमित स्कूलमा २५१ बिध्यार्थीहरु भर्ना भएका थिए र कोरोनाको समयमा पनि २ हप्ता मात्र स्कूल बन्द गरेर फिजिकल क्लास रुमबाट अनलाइन स्कूल शुरु गरिएको थियो । नेपाली समुदायको उल्लेख्य बस्ती रहेको टेक्सासमा यो स्कूलको शुरुवात सन् २००४ फेब्रुअरीबाट भएको हो ।

समर सेसनअन्तर्गत गत जुन, जुलाई र अगष्टमा गरेर ६ वटा कक्षाहरु संचालन गरिएको प्रिन्सिपल भट्टराईले बताए ।
नेपाली स्कूलले नेपाली लेख्न, पढ्न सिकाउने, हाम्रो आध्यात्मिक तथा सांस्कृतिक विषयको पहिचान गर्न नेपाली मुलका बालबालिकाहरुलाई सिकाउने उद्देश्य राखेको छ । यसपटकको समरमा चलाइएको आध्यात्मिक तथा सांस्कृतिक क्याम्पको कक्षा नेपालबाट गुरु डा.चिन्तामणि योगीले पढाएका थिए । प्रिन्सिपल भट्टराईले नेपाली समुदायलाई अनुरोध गर्दै भनेका छन्, “तपाईंहरु आफ्नो बच्चालाई भर्नामात्र गराउनुस्, हरेक नयाँ कुरा सिकाउने जिम्मा हामी लिन्छौं ।”
प्रवासमा जन्मे, हुर्केका वा सानै उमेरमा आएका नेपालीका बालवालिकालाई आफ्नो पहिचान बुझाउनु चुनौतिपूर्ण काम हो । यसपटकको क्याम्प यसका निमित्त निकै उपलब्धीमूलक भएको प्रिन्सिपल भट्टराई बताउंछन् । उनका अनुसार, पाठशालामा भर्ना भएका बिद्यार्थीहरु नेपाल र नेपालीप्रति बढी जोडिएको अनुभव गरिएको छ ।
समर क्याम्पका शिक्षक हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले क्याम्पको समापनमा कुनै पनि अभिभावकले बच्चालाई समय दिन नसकेर सिकाउनु पर्ने कुरा भोलि सिकाउंछु भन्दै पन्छिन नहुने सुझाव दिएका थिए ।
नेपाली समाज टेक्सासद्वारा अमेरिकामा हुर्किरहेका नेपाली बालबालिकाहरुका लागि आयोजि ६ हप्ता लामो आध्यात्मिक तथा साँस्कृतिक समर क्याम्पको समापन कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पका प्रमुख प्रशिक्षक डा. योगीले भनेका थिए, “उमेर बढ्दै गएपछि बच्चाहरुमा ग्रहण गर्ने क्षमता घट्दै जाने हुंदा सानै उमेरदेखि नै उचित विषयको सिकाइमा लगाउनु राम्रो हुन्छ । भोलि भनेर नपन्छिनुहोस् ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment