माधव नेपाल होम आइशोलेशनमा बसेपछि नेकपा सचिवालय बैठक अनिश्चित

मदन कोइराला
९ भदौ २०७७ ६:५४

काठमाडौं। वरिष्ठ नेता माधव नेपाल होम आइशोलेशनमा बसेका कारण सत्तारुढ दल नेकपा सचिवालय बैठक अनिश्चित भएको छ। नेता नेपालका सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपनि उनी होम आइशोलेशनमा बसेका छन्। अझै केही दिन होम आइशोलेनमा बस्ने नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

‘सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि उहाँ (नेपाल) सेल्फ क्वारेन्टाइनमा हुनुहुन्छ,’ नेपालका स्वकीय सचिव मोहन गौतमले डिसी नेपालसँग भने, ‘अहिले उहाँले भेटघाटलगायतका सबै काम बन्द गर्नु भएको छ।’

गत शनिबार पार्टी भित्रको विवाद समाधान गर्न गठित कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमाथि सुरुमा अध्यक्षद्वयले पहिला छलफल गर्ने र त्यसपछि सचिवालयमा पेश गर्ने बताइएको छ।

प्रतिवेदनमाथि अध्यक्षद्वयले मंगलबार (आज) विहान साढे नौ बजे छलफल गर्ने कार्यक्रम रहेको बालुवाटार निकट स्रोतले जनाएको छ। कार्यदलले बुझाएको प्रतिवेदनमाथि अध्यक्षद्वयले छलफल गरेपनि तत्काल सचिवालय बैठकमा भने छलफल नहुने भएको हो।

‘माधव कमरेड आइशोलेशनमा भएका कारण तत्काल सचिवालय बैठक बस्ने अवस्था रहेन,कार्यदलले पेश गरेको प्रतिवेदन अब दुवै अध्यक्षले अध्ययन गरेर केही दिनपछि बस्ने सचिवालय बैठकमा पेश गर्नुहुन्छ।’

‘माधव कमरेड आइशोलेशनमा भएका कारण तत्काल सचिवालय बैठक बस्ने अवस्था रहेन,’ एक नेताले डिसी नेपालसँग भने, ‘कार्यदलले पेश गरेको प्रतिवेदन अब दुवै अध्यक्षले अध्ययन गरेर केही दिनपछि बस्ने सचिवालय बैठकमा पेश गर्नुहुन्छ।’

नेता नेपाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष मध्ये एक पदबाट केपी ओलीले राजीनामा दिनुपर्ने अडान राख्ने नेता हुन्। पार्टीभित्रको विवाद समाधान गर्न भन्दै गठित कार्यदलले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बुँदा उल्लेख नगरी प्रतिवेदन बुझाएको छ। आफूले उठाउँदै आएका माग सम्वोधन नहुने अवस्था उत्पन्न भएपछि कार्यदलको प्रतिवेदनप्रति नेता नेपाल असन्तुष्ट बनेका छन्।

प्रचण्डले आफ्नो स्वार्थ पूरा गर्न आफ्नो साथ खोजेको तर स्वार्थ पूरा हुने अवस्थामा धोका दिएको निष्कर्ष नेता नेपालले निकालेका छन्। यसअघि दुई अध्यक्ष मिलेर कार्यदल गठन गरेको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका थिए।

पछि सविचलायबाट कार्यदललाई अनुमोदन गराइएको थियो। तर कार्यदलले दिएको प्रतिवेदनमा पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने र प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनु नपर्ने आशय प्रकट भएपछि नेता नेपाल असन्तुष्ट बनेका हुन्।

कार्यदलको प्रतिवेदनमा प्रधानमन्त्रीको राजीनाको मागलाई थाँती राख्न र अन्य विवादलाई सैद्धान्तिक भन्दै महाधिवेशनबाट टुंगो लगाउन सुझाव दिइएको छ। प्रतिवेदनमा सरकारको नेतृत्व ओली र पार्टी संचालन प्रचण्डले गर्ने उल्लेख गरिएको छ।

प्रतिवेदनमा दुवै अध्यक्षले सरकार र पार्टी सहकार्य र समन्वयका आधारमा संचालन गर्ने तथा मंसिर चार गतेको सहमतिलाई स्पष्ट गर्दै दुवै अध्यक्षको कार्यविभाजनलाई ठोस रुपमा परिभाषित गरिएको छ।

गत साउन ३० गते गठित कार्यदलले ८ दिन लगाएर प्रतिवेदन पेश गरेको हो। प्रतिवेदनमा पार्टीको एकता प्रक्रिया, पार्टीको संस्थागत परिचालन, दुई जना अध्यक्षको अधिकार र सीमा, पार्टीको एकताको बाँकी कामको टुंगो, एकता महाधिवेशन र त्यसले गर्नुपर्ने काम, सरकारको कामलाई प्रभावकारी बनाउने आधारका बारेमा सुझाव दिइएको छ।

यसैगरी कार्यदलले मन्त्रिपरिषद पुर्नगठन गर्न सुझाव समेत दिइएको छ। कार्यदलले प्रतिवेदन बुझाएसँगै असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा बोल्न अधिकांश सदस्यले माग गरेको प्रधानमन्त्रीको राजीनामाको विषय समाप्त भएको छ।

यसअघि प्रधानमन्त्री ओलीले दुई मध्ये एक पदबाट राजीनामा दिनुपर्ने बहुमत सदस्यले धारणा राखेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्य गरेका थिए।

यो बीचमा विवाद समाधानका लागि भन्दै अध्यक्षद्वयबीच विभिन्न चरणमा छलफल भएपनि निष्कर्ष निस्किने सकेको थिएन। पछि विवाद समाधानको खाका पेश गर्न भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *