विवादित यौनकाण्डले ट्रम्पका कट्टर समर्थक लिबर्टी विश्वविद्यालयका अध्यक्षको पद धरापमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख इमान्जेलिकल समर्थक, लिबर्टी विश्वविद्यालयका अध्यक्ष जेरी फलवेल जुनियरको नेतृत्व सोमबार सार्वजनिक भएको एक विवादित यौनकाण्डका कारण धरापमा परेको छ । न्यूयोर्क टाइम्सका अनुसार यो यौनकाण्डमा फालवेल, उनकी पत्नी र पूल अटेन्डेन्ट मुछिएका छन् । लिबर्टी विश्वविद्यालयका शीर्ष अधिकारीहरु, जसलाई फलवेलले १ अर्ब ६० करोड डलर बराबरको इभान्जेलिकल शक्तिको केन्द्र बनाएका थिए, अहिले फालवेलको विश्वविद्यालयको अध्यक्ष र चान्सलर पदबाट बहिर्गमनको छिनोफानो गर्ने तयारीमा छन् ।
सोमबार राती विश्वविद्यालयका प्रवक्ताले समाचार संस्थाहरुसँग फलवेलले राजीनामा दिएको बताएपछि स्थिति अन्योलग्रस्त बनेको थियो । पछि फलवेलले आफूले राजीनामा दिएको कुराको खण्डन गरेका थिए । ‘फलवेलले अहिलेसम्म राजीनामा दिएका छैनन् तर उनले स्कुलसँग आफ्नो भविष्यबारे परामर्श गरिरहेका छन्’ छलफलका मुख्य व्यक्तिहरुको निकट रहेका तर आधिकारिक रुपमा वक्तव्य दिन अनुमति नपाएका एक व्यक्तिले न्यूयोर्क टाइम्ससँग भने । सोमबार राती फलवेलले भर्जिनिया बिजनेस नामको स्थानीय म्यागजिनसँग कुरा गर्दै आफ्नो राजीनामाको खबर पूरै गलत भएको बताएका थिए ।
सोमबार एक बिजनेस एसोसिएट जियांकार्लो ग्राण्डाले रोयटर्सलाई दिएको अन्तरवार्तामा आफू फलवेलकी श्रीमतीसँग वर्षौंसम्म यौन सम्बन्धमा रहेको खुलासा गरेपनि विवाद सुरु भएको थियो । ग्राण्डाले यो यौन सम्बन्धबारे फलवेललाई पनि जानकारी भएको बताएपछि फलवेल विवादमा तानिएका थिए ।







डिसी नेपाल








Facebook Comment