भारतीय गुप्तचरको असफलताबाट चीनले यसरी फाइदा उठाइरहेछ

डिसी नेपाल
१८ भदौ २०७७ ८:३७
4
Shares

काठमाडौं। पछिल्लो समय भारतीय गुप्तचरहरु यस क्षेत्रमा रणनैतिक रुपमा असफल भएको र यसको फाइदा पाकिस्तान र चीनले उठाइरहेको दक्षिण एसिया मामिलाका विशेषज्ञले निष्कर्ष निकालेका छन् । दक्षिण एसियाको शक्ति केन्द्रको रुपमा रहेको भारत यस क्षेत्रमा रणनैतिक रुपमा असफल हुँदै जाँदा चीन यहाँ नयाँ शक्तिकेन्द्रको रुपमा दाएको उनीहरुको निष्कर्ष छ । विश्लेषकहरु सुमित गांगुली र फ्रयांक ओडोनिलले फरेन पोलिसीमा एक टिप्पणी प्रकाशित गर्दै भारतले आफ्ना गल्तीहरुबाट सिक्न नसकेको बताएका छन् ।

पछिल्लो समय गलवान घाटीमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको र त्यहाँ २० भारतीय सैनिकले ज्यान गुमाएको प्रसंग उल्लेख गर्दै उनीहरुले चीनले किन यसरी भारतको सुरक्षा व्यवस्थालाई बेवास्ता गरेर अगाडि बढिरहन्छ भन्ने प्रश्न उठाएका छन् । उनहिरुले भारत आफ्नो सुरक्षाप्रति संवेदनशीन नभएको र उसले विगतका गल्तीबाट पाठ सिक्न नसकेकै कारण चीनले पटक पटक यसरी हस्तक्षेप गर्ने गरेको निष्कर्षसमेत निकालेका छन् ।

चीन र भारतबीच १९५० देखि नै सानातिना झडपहरु हुने गरेको भए पनि भारतले यसलाई संवेदनशील रुपमा लिएर सीमामा सुरक्षा व्यवस्था बलियो बनाउनुपर्नेमा त्यसो गर्न नसकेकै कारण १९६२ मा चीनले भारतमाथि आक्रमण नै गरेको उल्लेख गर्दै उनीहरुले भारतले कथित ‘अग्रगामी नीति’लाई समातेर चीनसँगको सीमामा कम सैनिक र हतियार तैनाथ गरेकै कारण भारतले चीनसँग पराजय व्यहोर्नुपरेको बताएका छन् ।

आफ्नो यो असफलताबाट समेत भारतले सिक्न नसकेकै कारण अहिले चीनले गलवान उपत्यकामा भारतमाथि आक्रमण गरेर आफूले आवश्यक परेको खण्डमा भारतलाई पछि हटाउन सक्ने देखाएको र अहिले गलवान उपत्यकाको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएको उनीहरुको निष्कर्ष छ । अहिले चीनले नियन्त्रणमा लिएको आक्साइ चीन प्लेटोको क्षेत्रफल करिब स्वीजरल्याण्डको जति नै भएको उनीहरुले उल्लेख गरेका छन् ।

भारतको नीति निर्माण तहले सुरक्षाको विषयमा संवेदनशीलता देखाउन नसकेको र यसको लागि भारतको इन्टेलिजेन्स ब्यूरोसँगै पूरै इन्टेलिजेन्स प्रणाली नै दोषी भएको उनीहरुले उल्लेख गरेका छन् । उनीहरुले अगाडि लेखेका छन् ‘यो असफल प्रणाली थियो किनकि यसको निष्कर्षको कुनै पनि अर्थपूर्ण बाह्य छानबिन थिएन । सबैभन्दा खराब त संसदीय अनुगमनको व्यवस्था नै थिएन जुन कैयौं अन्य देशहरुमा सामान्य कुरा हो । इन्टेलिजेन्स ब्यूरो पनि स्रोत र साधनको अभावसँग गुज्रिरह्यो र राज्यबाट सीमान्तकृत पारियो । राज्य सुरक्षा खर्च कटौती गर्ने नीतिको पक्षमा थियो । यसले नीति निर्मातालाई चीनको खतरा कम भएको महसुस भयो । यही कारण उनीहरुले आफ्नो नीति अगाडि बढाए र सम्भावित चिनियाँ खतरालाई खारेज गरे । आश्चर्य मान्नु पर्दैन भारतले अफूलाई चीनको अगाडि उभिन तयार पार्नै सकेन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.