रुसले स्वीकृति दिइसकेको कोरोना भ्याक्सिन क्लिनिकल ट्रायलमा पनि प्रभावकारी देखियो !
काठमाडौं। रुसले स्वीकृति दिइसकेको कोरोनाभाइरसको भ्याक्स्नि स्पुतनिक ५ क्लिनिकल ट्रायलमा पनि प्रभावकारी देखिएको छ । विश्व स्वास्थ्य संगठन, अमेरिका, युरोपेली युनियन लगायतले अत्यन्तै छिटो स्वीकृति दिइएको र पर्याप्त कागजात सार्वजनिक नगरिएको भन्दै यो भ्याक्सिनलाई जिश्वास गरेका थिएनन् तर नयाँ अध्ययनमा यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित र प्रभावकारी पाइएको छ ।
मेडिकल जर्नल ‘द ल्यान्सेट’मा शुक्रबार प्रकाशित शोधपत्र अनुसार यो भ्याक्सिनको सुरुवाती ‘नन रेन्डमाइज्ड’ ट्रायलमा निकै राम्रो नतिजा आएको छ । भ्याक्सिनका २ फर्म्युलेसनको ७६ जनामा गरिएको ट्रायलको ४२ दिनपछि सेफ्टी प्रोफाइलको नतिजा आएको हो । नतिजामा २१ दिनमै सबै स्वयंसेवकहरुमा एन्टिबडी रेस्पोन्स निकै राम्रो देखिएको छ । शोधकर्ताहरुका अनुसार यो भ्याक्सिनले २८ दिनमा शरीरमा टि–सेल पनि उत्पादन गर्छ । टि सेलले शरीरलाई भाइरससँग लड्ने शक्ति दिन्छ ।
यो रिपोर्ट ४२ दिनसम्म चल्ने सानो स्तरका दुई ट्रायलमा आधारित छ । पहिलो ट्रायलमा भ्याक्सिनको फ्रोजन फर्म्युलेसन र दोस्रो ट्रायलमा लायोफिलाइज्ड फर्म्युलेसनको जाँच गरिएको थियो । भ्याक्सिनका दुवै हिस्सा जसमा ह्युमन एडिनोभाइरस टाइप २६ र ह्युमन एडिनोभाइरस टाइप ५को रिकम्बिनेन्ट प्रयोग गरिएको छ, यसलाई सार्स सिओभी २ को स्पाइक प्रोटिनको रुपमा मोडिफाइ गरिएको थियो । यो भ्याक्सिन हातको मांशपेशीबाट दिइन्छ त्यसपछि शरीरको प्रतिरोधी प्रणालीमा यसको असर देखिन सुरु हुन्छ । एन्टिबडी र टि सेल्स उत्पन्न भएपछि उनीहरुले मानव शरीरमा फैलिएका सार्स सीओभी २ बाट संक्रमित कोशिकालाई निशाना बनाउन थाल्नेछन् ।







डिसी नेपाल








Facebook Comment