पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्किन पाँचवर्ष लाग्ने

डिसी नेपाल
२२ भदौ २०७७ २०:०५

काठमाडौं। कोभिड–१९ का कारण धरासायी भएको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्किन चार/पाँचवर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन्। कोभिडका कारण ठूलो संख्यामा पर्यटक आउने अवस्था नभएकाले नयाँ कन्सेप्टमा जानुपर्ने उनीहरुले औंल्याएका छन्।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने बताए। ‘अबमास टुरिज्मको इरा गयो’, उनले भने, ‘अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ जहाँ कुनै विषेश इन्ट्रेस्टको आधारमा सेवा दिन सकिन्छ।’

श्रेष्ठले पर्यटन क्षेत्रमा केही नयाँ आविस्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताए। सरकारले २०२० लाई नेपाल भ्रमण बर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। त्यसैलाई लक्षित गर्दै सरकारी तथा नीजि क्षेत्रबाट गरेको लगानी जोखिममा परेको उनले बताए।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि स्टिमुलस प्याकेज ल्याएको भए पनि कार्यान्वयन नहँुदा प्रभावकारी नभएको पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए। ‘कार्यान्वयन नहँदा स्टिमुलस प्याकेज पनि प्रभावकारी भएको छैन’उनले भने।

पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले पहिलेकै अवस्थामा ल्याउन चार/पाँचवर्ष लाग्ने बताए। ‘२०२४/२५ भन्दायता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न’उनले भने।

कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या भएकाले सरकारलाई पनि राजश्व उठाउन समस्या भइरहेका बेला सरकारको मुखमात्रै ताक्नुभन्दा व्यवसायीहरुले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने शाक्यले बताए। पर्यटन क्षेत्रको उत्थानका लागि बजेट मार्फत ल्याएको प्याकेजलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै उनले त्यस्तो प्याकेज दिँदा पार्टीको झण्डा बोक्नेलाई दिने वातावरणको अन्त्य गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *