जितिया पर्वले समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति
काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेकी छन्।
जितिया पर्वका अवसरमा आज शुभकामना सन्दैश दिँदै राष्ट्रपतिले यस्ता सांस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम‚ विश्वािस‚ सद्भायव र सहयोगको भावनालाई प्रगाढ बनाउनाका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भूगोलका सम्पूर्ण नेपालीबीचमा समेत परस्पर सद्भाीव‚सहिष्णुता‚समझदारी र ऐक्यबद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।
नेपालमा मनाइने यस किसिमका चाडपर्वले विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेको जनाउँदै राष्ट्रपतिले यी चाडपर्व मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित विभेदजन्य अभ्यास एवं अव्यावहारिक पक्षलाई समयसापेक्ष सुधारसमेत गर्दै जानुपर्ने विचार पनि व्यक्त गरेकी छन्।
जितिया पर्वले महिलाविरुद्ध थोपरिएका सबै प्रकारका विभेद‚ असमानता र हिंसालाई अन्त्य गर्दै समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई उत्प्रेरणा र उत्साह प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरेकी छन्।
‘जिमुतवाहनव्रत’समेत भनिने जितिया पर्व प्रत्येक वर्ष आश्विनकृष्ण पक्षको अष्टमी तिथिको दिन तराई क्षेत्रका मैथिल तथा थारु महिलाले आफ्ना सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोकदेवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment