नेकपा स्थायी कमिटी बैठक आज बस्दै, यी हुन् एजेण्डा

डिसी नेपाल
२६ भदौ २०७७ ७:५१

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिअनुसार लामो समयदेखि अवरुद्ध स्थायी कमिटी बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि बैठक सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गत सोमबार बिहान अध्यक्षद्वय ओली र दाहालबीच गत साउन १३ गते स्थगित भएको बैठक भदौ २६ गते अर्थात् आज (शुक्रबार) का लागि बोलाउने सहमति भएको थियो।

उनीहरुले बुधबार बैठकका लागि पार्टीको विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गरेका थिए। स्थायी कमिटीमा पेश गर्नका लागि तयार पारिएको प्रस्तावमा एक महिनाभित्र पोलिटब्युरो गठन गर्ने उल्लेख छ।

यस्तै, पार्टी एकताका बाँकी रहेका कामहरू आगामी असोज महिनाभित्र सम्पन्न गर्ने, आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्दा निश्चित मापदण्ड तय गर्नुपर्ने प्रस्तावहरू तय गरिएका छन्।

त्यसैगरी, सरकार र अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पाेरेसनबीच भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता (एमसिसी) परिमार्जन र संशोधन गरेर पारित गर्नुपर्ने पनि स्थायी कमिटी बैठकका लागि प्रस्ताव तय गरिएको छ ।

पार्टीको आन्तरिक विवाद मिलाउन महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएका प्रतिवेदनबारे भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो। गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *