१९ वर्षका युवकले साथीहरु बोलाएर पार्टी गरे, १५ लाख जरिवाना

डिसी नेपाल
२८ भदौ २०७७ १५:२७

काठमाडौं। १९ वर्षका एक छात्रले आफ्नो घरमा भव्य पार्टी गरे । उनको पार्टीमा ५० जना सहभागी भएका थिए । पार्टीपछि उनलाई कोरोना महामारीको नियम तोडेको आरोपमा १० हजार पाउण्ड (१५ लाख नेपाली रुपैयाँ) जरिवाना तिराइएको छ । बीबीसीका अनुसार कारवाहीमा परेपछि ती युवकले आफूले पार्टी आयोजना गरेकोमा खेद व्यक्त गरेका छन् ।

छात्रका अनुसार उनले केवल २५ जनालाई बोलाएका थिए । उनका अनुसार शुक्रबार आयोजना गरिएको यो पार्टीका लागि उनले केवल २५ जनालाई बोलाएका थिए तर ५० जना आए । पार्टीमा आउनेहरुमध्ये कैयौं आफ्नो साथीको साथमा पार्टीमा आएका थिए । घटना बेलायतको नटिंघमको हो । पुलिस त्यो घरमा पुग्दा ५० जना पार्टीमा मस्त भेटिएका थिए ।

पुलिस अधिकारीहरुका अनुसार पहिले ती छात्रलाई पार्टी रोक्नको लागि चेतावनी दिइएको थियो । तर, पछि जरिवानाको सजाय गरियो । छात्रले घटनालाई लिएर खेद व्यक्त गरेका छन् तर उनले जरिवानाको राशी तिर्छन् वा तिर्दैनन् भन्ने पुष्टि भएको छैन । बेलायतमा कोरोना महामारीका विषयमा नयाँ नियम लागू भएको केही दिनपछि यो घटना सार्वजनिक भएको हो ।

बेलायतमा लागू गरिएको नयाँ नियमअनुसार एक व्यक्तिले एक पटकमा केवल ६ जनासँग मात्र भेट्न पाउँछन् । यद्यपि ती छात्रले जुन घरमा पार्टी गरिरहेका थिए त्यो घरमा पहिल्यै उनीसहित ६ जना छात्र बस्छन् । छात्रका अनुसार उनीहरुले यो सानो पार्टी होला भन्ने सोचेका थिए । तर, निम्तो पाउनेहरुले आफ्ना साथी समेत लिएर आए । अब जरिवाना नतिरेमा ती छात्र अदालतमा उपस्थित हुनु पर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *