दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि
काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले दोस्रो विश्व ज्ञान सम्मेलन आगामी असोज २३ –२५ गतेसम्म आयोजना गर्ने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार सो भर्चुअल सम्मेलनमा संयुक्त राष्ट्र सङ्घअन्तर्गतका विश्व खाद्य सङ्गठन, श्रम सङ्गठनलगायत इसिमोड, एशियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।
विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरिएको थियो ।
राष्ट्र सङ्घको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापछि विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमा सम्मेलन केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा हेमराज शर्माले जानकारी दिए।
सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक चीन, जापान, भारत, सिङ्गापुर, श्रीलङ्का, दक्षिण कोरिया, साइप्रस, क्यानडा,अमेरिका, बेलायत, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्डस, फ्रान्स र जर्मनीका वैज्ञानिक सहभागी हुने छन् । आयोजकका अनुसार सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तथा विशेष अतिथि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहने छन्।







डिसी नेपाल








Facebook Comment