मल कहिले आउँछ ? भन्दै प्रधानमन्त्रीले कृषिमन्त्रीलाई बैठकमै र्‍याखर्‍याख्ती पारे

डिसी नेपाल
२ असोज २०७७ ७:२९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार भएको मन्त्रिपरिषद्को बैठकमा कृषिमन्त्री घनश्याम भुषाललाई किसानका खेतमा अहिलेसम्म मल नपुग्नुको कारणबारे र्‍याखर्‍याख्तीपारेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीसमेत अर्का एक ठेकेदारले यो खेतीको सिजनका लागि रासायनिक मल आपूर्तिको टेण्डर पारे पनि समयमा मल ल्याउन नसकेपछि सरकारविरुद्ध किसानहरु आक्रोशित छन्।

खेतीको सिजनमा बालीमा मल हाल्न नपाएको अवस्थामा कृषि मन्त्रालयले मलको व्यवस्था मिलाउन नसकेपछि प्रधानमन्त्री ओली आफैंले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदलाई फोन गरी नेपाललाई पुग्ने गरी मल पैंचो मागेका थिए। त्यो मल पनि समयमा आउने छाँट नपाएपछि मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओली आक्रोशित भएका थिए।

मलबारे के भइराखेको छ? मल कसरी आइपुग्छ? किन आएन? कसले ल्याउँछ? जस्ता प्रश्न गर्दै कृषि मन्त्री भुषालमाथि खनिएका प्रधानमन्त्रीले मल नआउनुमा को को व्यक्ति जिम्मेवार छन् भन्ने खुलाउन मन्त्रीलाई निर्देशन दिएका थिए। मल ल्याइपुर्याउन अझै दुई महिनासम्म लाग्ने कृषिमन्त्रीले बताएपछि प्रधानमन्त्री ओली झन् च्याँठ्ठिएका थिए।

खेतीको सिजनमा बालीमा मल हाल्न नपाएको अवस्थामा कृषि मन्त्रालयले मलको व्यवस्था मिलाउन नसकेपछि प्रधानमन्त्री ओली आफैंले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदलाई फोन गरी नेपाललाई पुग्ने गरी मल पैंचो मागेका थिए। त्यो मल पनि समयमा आउने छाँट नपाएपछि मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओली आक्रोशित भएका थिए।  कृषि मन्त्री भुषालमाथि खनिएका प्रधानमन्त्रीले मल नआउनुमा को को व्यक्ति जिम्मेवार छन् भन्ने खुलाउन मन्त्रीलाई निर्देशन दिएका थिए

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले के धान पाकेपछिमात्र खेतमा छर्ने गरी मल ल्याउने हो? भन्दै अक्रोश पोखेका थिए। जवाफमा छोटो छोटोमात्र जवाफ दिइरहेका मन्त्री भुषालले यो प्रश्नमा भने अव मल यसपालिको धान बालीका लागि आइनपुग्ने बताउँदै भनेका थिए, ‘गहुँका लागिमात्र मल आइपुग्ने स्थिति छ।’

यो उत्तरले असन्तुष्ट प्रधानमन्त्रीले मन्त्री भुषाललाई ‘बंगलादेशबाट एक हप्ताभित्रै आइपुग्नुपर्ने मल किन नल्याएको’ भनी सोधेका थिए। यो प्रश्नमा मन्त्रीले कानुनी प्रकृयाको कुरा झिकेपछि प्रधानमन्त्रीको ध्यान आपूर्तिमन्त्री लेखराज भट्टतिर सोझिएको थियो।

प्रधानमन्त्री ओलीले मन्त्री भट्टलाई आपूर्ति मन्त्रालयअन्तर्गतको नेशनल ट्रेडिङले पनि मल ल्याउनेबारे काम गर्न सक्ने कुरा बताएका थिए। मन्त्री भट्टले सक्ने कुरा बताए पनि कृषि मन्त्रीले आपूर्ति मन्त्रालयलाई मल ल्याउन दिने कुराको विरोध गरे।

उनले कृषि मन्त्रालयले नै मल ल्याउन सक्ने भन्दै कानुनले आपूर्ति मन्त्रालय अन्तर्गतको संस्थालाई मल ल्याउन स्वीकृत नदिने कुरा बताएपछि ओलीले त्यस्ता कानून देखाउनु भन्दै मन्त्री भुषाललाई च्यापेका थिए।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार, औपचारिक एजेण्डामा नभएको यो मलसम्बन्धी विषयले मन्त्रिपरिषदको बैठकको एकघण्टा भन्दा बढी समय लिएको थियो। प्रधानमन्त्रीले बोलीपिच्छे स्पष्टीकरण मागेपछि मन्त्री भुषाललाई विहीबारको मन्त्रिपरिषद्को बैठक निकै सकसपूर्ण भएको थियो।

सत्तारोहण गर्नुअघि प्रधानमन्त्री ओलीको चर्को आलोचक रहेका कृषि मन्त्री भुषालले त्यसबेला ओलीको सरकारलाई कम्युनिष्ट सरकार भन्न नसकिने र यस्तो सरकारले कृषक तथा मजदुरको हित गर्न नसक्ने कुरा पटक पटक बोल्दै आएका थिए।

जव उनी कृषि मन्त्री भए त्यसपछि समाजवादी कृषितन्त्रको वकालत गरेर केही समय मिडियाको आकर्षणमा परेका पनि थिए तर कृषकलाई मलको आवश्यकता पर्छ भन्ने कुरा जान्दाजान्दै पनि त्यसको व्यबस्थापन गर्न नसक्दा अहिले उनको कार्य क्षमतामै प्रश्न उठाउनेहरु धेरै भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *