पूर्वी नाका काँकडभिट्टाबाट चिया निर्यात घट्यो, एकै वर्षमा ६३ करोडभन्दा बढीको गिरावट

डिसी नेपाल
१८ साउन २०८३ १०:४५

झापा।। पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य गिरावट आएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो।

भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको छ।

जबकी आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया भारत निर्यात भएको थियो। अघिल्लो वर्षको तुलनामा निर्यात परिमाण घट्दा चिया बिक्रीबाट हुने आम्दानीमा ६३ करोड ९६ लाख ८९ हजार रुपैयाँले कमी आएको छ।

प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाका हुँदै निर्यात हुने वस्तुहरूमा अलैँचीपछि चिया दोस्रो स्थानमा पर्दछ। नेपाली चियाको मुख्य बजार भारत नै भएकाले त्यहाँको बजारमा आउने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध र अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण निर्यात प्रभावित भएको उहाँले बताउनुभयो।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतीय बजारमा पुग्ने गर्दछ। चिया निर्यातमा आएको यो गिरावटले चिया उत्पादक किसान, उद्योगी र समग्र वैदेशिक व्यापार घाटामा नकारात्मक असर पार्ने देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *