तेलको मूल्यमा ठूलो गिरावट, सुनको मूल्यमा भने वृद्धि

डिसी नेपाल
१८ साउन २०८३ ११:१६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सम्भावित सैन्य हमला स्थगन गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ। सोमबार कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।

अर्कातर्फ, सुरक्षित लगानीका रूपमा हेरिने सुन लगायतका बहुमूल्य धातुहरूको माग बढ्दा तिनको मूल्यमा भने वृद्धि दर्ता भएको छ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिबैरल ४.०८ डलर अर्थात् ४.६४ प्रतिशतले घटेर ८३.८५ डलरमा झरेको छ। त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुडको मूल्य पनि प्रतिबैरल ४.०१ डलर अर्थात् ४.७४ प्रतिशतले गिरावट भई ८०.६६ डलरमा कारोबार भएको छ।

तेलको मूल्य घट्दा सुनको भाउमा भने मजबूती देखिएको छ। राष्ट्रपति ट्रम्पको निर्णयले महँगी र ब्याजदर सम्बन्धी चिन्ता केही हदसम्म कम गरेपछि लगानीकर्ताहरूको ध्यान सुरक्षित लगानीतर्फ मोडिएको हो।

अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्ड को मूल्य ०.७ प्रतिशतले बढेर ४,०६७.०६ डलर प्रतिऔंस पुगेको छ। यस्तै, अमेरिकी गोल्ड फ्युचर्सको मूल्य पनि ०.९ प्रतिशतले उकालो लाग्दै ४,०६५.६० डलर प्रतिऔंसमा कारोबार भएको छ।

राष्ट्रपति ट्रम्पले आइतबार इरानविरुद्धको नयाँ सैन्य कारबाहीलाई हालका लागि स्थगित गर्ने घोषणा गरेका थिए। उनले इरानको परमाणु कार्यक्रमबारे चाँडै नयाँ सम्झौता हुने र रणनीतिक मार्ग ‘स्ट्रेट अफ होर्मुज’ लाई पुनः सञ्चालनमा ल्याइने बलियो सम्भावना रहेको बताएका थिए।

मध्यपूर्वमा तत्कालका लागि युद्धको खतरा टरेकाले इन्धन आपूर्ति सहज हुने अपेक्षासहित तेलको मूल्य ओरालो लागेको हो भने विश्वव्यापी आर्थिक स्थिरताको आशामा सुनको माग बढेको विश्लेषण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *