इरानसँग आजदेखि नयाँ चरणको वार्ता सुरु हुने ट्रम्पको घोषणा, इरानले के भन्यो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ता सोमबारदेखि सुरु हुने दाबी गरेका छन्। राष्ट्रपति ट्रम्पले इरानमाथि गर्ने तय गरिएको ठूलो सैन्य हमलालाई हालका लागि स्थगित गरिएको जानकारी दिँदै इरान र मध्यपूर्वका मित्र राष्ट्रहरूको आग्रहमा सो निर्णय लिइएको बताएका हुन्।
आफ्नो विशेष विमान ‘एयर फोर्स वान’ मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इरानबीच सोमबार दिउँसोदेखि वार्ता सुरु हुने बताए। यद्यपि, सो वार्ता कहाँ हुनेछ र त्यसमा को-को सहभागी हुनेछन् भन्ने विषयमा उनले कुनै स्पष्ट जानकारी दिएका छैनन्।
यसअघि, राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका थिए, ‘इरान र मध्यपूर्वका हाम्रा मित्र राष्ट्रहरूले सैन्य कारबाही रोक्न अनुरोध गरेका थिए, किनभने सम्झौताको रूपरेखा लगभग तयार भइसकेको छ।’
ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’ र परमाणु मुद्दामा दुई देशबीच नयाँ सम्झौता हुने बलियो सम्भावना रहेको दाबी समेत गरेका छन्।
अर्कातर्फ, इरानले भने राष्ट्रपति ट्रम्पको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानको अर्ध-सरकारी समाचार संस्था ‘मेहर’ का अनुसार इरानले अमेरिकासँग कुनै पनि सैन्य कारबाही रोक्न अनुरोध नगरेको र ट्रम्पको भनाइ ‘एउटा नयाँ झुट’ मात्र भएको जनाएको छ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार इरानका विदेशमन्त्री अब्बास अरागचीले ओमानको मध्यस्थतामा ‘स्ट्रेट अफ होर्मुज’ सम्बन्धी सम्झौताको वार्ता भने अन्तिम चरणतर्फ अघि बढिरहेको पुष्टि गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment