हतियार छोड्ने सम्झौतापछि पनि गाजामा आक्रमण, बालबालिकासहित १३ जनाको मृत्यु

डिसी नेपाल
१८ साउन २०८३ १०:४९

काठमाडौं । इजरायलले गाजा पट्टीमा लगातार दोस्रो दिन पनि घातक हवाई हमला जारी राखेको छ। पछिल्लो हमलामा परी बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार इजरायली सेनाले गाजा सिटी, खान युनिस र दिर अल-बलाहका घनावस्ती रहेका आवासीय क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरेको हो।

गाजाको सिभिल डिफेन्स अथोरिटीले इजरायली युद्धक विमानहरूले धेरै वटा आवासीय क्षेत्रहरूमा बमबारी गरेको जनाएको छ। अर्कातर्फ, इजरायली रक्षा बलले भने आफ्ना कारबाहीहरू गाजामा सक्रिय सैन्य अखडा र हमासका लडाकुहरूलाई लक्षित गरी गरिएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार यी हमलाहरूमा हमासका दुई जना लडाकु मारिएका छन्।

यसअघि हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ लाई आफ्ना हतियारहरू बुझाउने सम्बन्धी प्रस्तावित निसस्त्रीकरण योजना स्वीकार गरेको केही दिनपछि नै इजरायलले यो आक्रमण गरेको हो।

यद्यपि, इजरायलका ऊर्जा मन्त्री एली कोहेनले आइतबार स्पष्ट पार्दै गाजामा सैन्य कारबाही रोक्ने विषयमा कुनै पनि औपचारिक सम्झौता नभएको बताएका छन्। उनले भनेका छन्, ‘यदि हमासले आफ्ना हतियारहरू त्याग्दैन भने गाजा पट्टीलाई पूर्ण रूपमा इजरायलको नियन्त्रणमा लिनु अत्यावश्यक हुनेछ।’

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हाल गाजा पट्टीको करिब ७० प्रतिशत भूभाग इजरायली सेनाको प्रत्यक्ष नियन्त्रणमा रहेको छ। हमासले हतियार बिसाउने सहमति जनाए पनि इजरायलले पूर्ण नियन्त्रणको रणनीति कायम राख्दा मध्यपूर्वमा शान्ति स्थापनाको प्रयास थप जटिल बन्दै गएको देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *