सरकारका गतिविधि संविधानको भावना विपरित : देउवा

डिसी नेपाल
२ असोज २०७७ २१:००

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना दिँदै नेकपा नेतृत्वको सरकारका गतिविधि संविधानको भावना विपरित भएको भन्दै त्यसप्रति गम्भीर हरेको बताएका छन्।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीको कार्यालयमा शक्ति केन्द्रित गर्ने कार्य, संविधानको भावना विपरीतका विधेयकहरु, प्रेस स्वतन्त्रता कुन्ठित गर्ने नियत र ब्यवहार, प्रदेश र स्थानीय सरकारहरुलाई अधिकार, कर्मचारी र बजेट बिनियोजनमा गरिएका विभेदहरु, संवैधानिक अंगहरुको गरिमा अन्त्य गर्ने ढंगले गरिएका ब्यवहारहरु, फरक विचार राख्ने या विरोध गर्नेप्रति जाइलाग्न प्रस्तुत असहिष्णु अभिव्यक्ति, नेकपा नेतृत्वको शासनका यस्ता कार्यले संविधानको सफलता होइन नवीन जटिलता तर्फ मुलुकलाई लैजान सक्दछ । आजको दिन लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक ब्यवहारमा इमानदार बन्न म प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वमा रहेकोे सरकारलाई अपील गर्दछु ।’

सभापति देउवाले भनेका छन्, ‘अनेक चुनौतीका बावजुद यो संविधानको सफलता संग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प आजको घडी जरुरी छ।’

सभापति देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको भन्दै यसबाट उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएको उल्लेख गरेका छन्। उनले उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.