हामी र हाम्रो भन्ने भावनाको विकास नभई देश विकास हुँदैन

डिसी नेपाल
४ असोज २०७७ ११:१४

अहिले नेपाली समाजमा म र मेरोको बाहुल्यता बढेको छ। सामान्य व्यक्तिदेखि ठूला व्यापारी, राजनीति गर्ने नेता सबैमा यो भावना देखिएको छ। सत्ता संचालनदेखि सबै कर्मचारीसम्म यो भावना विकास भइसकेको छ।

यसैको परिणाम हाम्रो सामाजिक रीति रिवाज, रहनसहन सबै चीजमा यसको नकारात्मक असर परेको छ। म कसरी शक्तिमा पुग्ने, आफ्नोलाई कसरी संरक्षण गर्ने र आफू र आफ्नोले जे–जे गरे पनि कानून सम्मत भन्ने अरूले राम्रो गरे पनि त्यो कानून अन्तर्गत नपर्ने सोच नेपाली समाजमा विकृतिको रुपमा विकास भएको छ। व्यापारी कालो बजारीमा मस्त छ। उसलाई समाज र देशप्रति केही माया छैन।

राष्ट्र चलाउनेहरु पनि कसरी कुर्सीमा बसिरहने भन्नेमा व्यस्त छन्। आसे पासे तेल लगाउनमा व्यस्त छन्। अनि सामाजिक, संस्कृति रीति रिवाज भन्दा पनि पैसामा इमान र इज्जत फाल्नेहरुको बोलवाला छ । मानवतालाई बिर्सिएर हाम्रो समाज विकृतिमा रुमलिएको छ। यहाँ सबैलाई आफ्नै दुनो सोझ्याउनु छ । आफ्नो निजी स्वार्थको लागि सबै सीमा पार गर्नको लागि पनि मानिसहरु तयार भएका छन् ।

इतिहास साक्षी छ, जो आफ्नो सामाजिक रीति रिवाज, संस्कृति सभ्यताको संरक्षण गर्छ, ऊ अमर रहन्छ। जो यी आफ्ना सबै कुरा भुलेर आफू नै सर्वेसर्वा हुँ भन्छ त्यो इतिहास कालखण्डमा कहीँ कतै भेटिने छैन। हाम्रो समाजका हरेक व्यक्ति नेता व्यापारी सबै भ्रष्ट समाज बनाउन दत्तचित्त भएको आभास अब सानोदेखि ठूलोसम्मलाई भएको छ। आफ्नो जिम्मेवारी भुलेर पैसा देखेपछि भगवान शिवजीको पनि तेस्रो आँखा खुल्छ भने झैं हिजो मेरो सबथोक जनता हो भन्नेहरुको आज तेस्रो नेत्र पनि खुलेको छ। हर सेक्सन उपसेक्सन जहाँबाट मिल्छ कमाउ धन्धामा लागेको देखिन्छ।

यहाँ महामारी होस् या जुनसुकै प्राकृतिक प्रकोप, त्यसमा पनि राजनीति गर्ने र कमाउने भन्ने मात्र ध्येय राखिएको पाइन्छ। मानवता मरिसकेको छ । गरिबीप्रति कसैको चिन्ता छैन। मानव अधिकारका नाममा लुट, ठेक्का, खरीद, बिक्री, टेण्डर सब ठाउँमा आफू र आफ्नो मात्रको खेल छ। राम्रो र सत्यको कुरा गर्ने यहाँ टिक्न सक्ने अवस्था छैन।

यहाँ महामारी होस् या जुनसुकै प्राकृतिक प्रकोप, त्यसमा पनि राजनीति गर्ने र कमाउने भन्ने मात्र ध्येय राखिएको पाइन्छ। मानवता मरिसकेको छ । गरिबीप्रति कसैको चिन्ता छैन। मानव अधिकारका नाममा लुट, ठेक्का, खरीद, बिक्री, टेण्डर सब ठाउँमा आफू र आफ्नो मात्रको खेल छ। राम्रो र सत्यको कुरा गर्ने यहाँ टिक्न सक्ने अवस्था छैन। हिजो खाली खुट्टा र चप्पलमा जनताको सेवा गर्छु भन्ने आज आफ्नो सेवामा जुटेका छन्, महल र कारमा अघिपछि चम्चे लिएर हिँडेको देखिन्छ।

जहिलेसम्म हामी र हाम्रो भन्ने भावनाको विकास हुन्न तबसम्म नेपाल र नेपालीको उन्नति हुन्न । म र मेरोको भावना लिएर हिँडेकाबाट यो देशको विकास सम्भव छैन। हामी र हाम्रो भन्ने मनस्थितिको विकास गराई आफ्नो सामाजिक रीति रिवाज धर्म संस्कृतिको जगेर्ना गर्न अब युवा पुस्ता अघि बढ्ने बेलामा आएको छ। यहाँका सबै नेताहरु कोही जातीय विभेदको नाममा कमाउने कोही धर्मको नाममा कमाउने धन्दामा लागेका छन् ।

पृथ्वीनारायण शाहको भनाइ सापटी लिँदा चार जात छत्तीस वर्णको सुन्दर फूलबारीलाई तोडेर कमाउ धन्धाका लागि सामाजिक फुट र विभेदको नारा दिएर बनी बनाउ सामाजिक मर्यादा भंग पार्ने र आफ्नो दुनो सोझो बनाउने समाजका अगुवा र विदेशीको इशारामा नाच्ने कठपुतलीको अन्त्य र सामाजिक मर्यादाको पुजारी बनी देश र जनताको भलो चाहने युवा पुस्ता अब म र मेरो भन्दामाथि उठी हामी र हाम्रो भन्ने सामाजिक चेतना भएका युवाहरुले यो देशको बागडोर सम्हाल्ने हो भने देशले र नेपाली जनताले शान्तिको जीवन बिताउन पाउने छन्।

त्यसका लागि अहिले यो कोरोना भाइरसबाट स्वदेश फर्किएका युवा दक्ष जनशक्तिलाई स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्न सक्नु पर्छ। युवा पुस्ताप्रति आशा जगाउन सक्नुपर्छ। सरकार प्रमुखको रुपमा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएका सपना अब यथार्थमा परिणत गर्नुपर्छ। त्यसो गर्न संभव पनि छ। मुख्य गरी कृषि र पर्यटन उद्योगलाई केन्द्रमा राखेर काम गर्नुपर्छ।

कोरोना जस्ता महामारीले रोगमात्रै पनि ल्याउँदैनन्, यस्ता महामारीले अवसर पनि ल्याउँछन्, खाली त्यस्ता अवसरलाई पहिचान गर्न सक्नुपर्छ। स्वदेश फर्किएका दक्ष जनशक्तिलाई स्वदेशमा रोजगारी दिने र कृषिमा प्रोत्साहन दिएर कृषिमा मुलकु आत्मनिर्भर बन्न सक्यो भने अन्य समस्या पनि विस्तारै समाधान हुँदै जानेछन्। अनि सुखी नेपाली, समृद्ध नेपालकाे सरकारकाे अभियानले सार्थकता पाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *