अस्ट्रेलियामा हजारौं नेपाली विद्यार्थीमाथि दोस्रो दर्जाको व्यवहार, कुटपिट र जातीय गाली

डिसी नेपाल
६ असोज २०७७ १२:३२

काठमाडौं। कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियामा हजारौं आप्रवासी विद्यार्थीहरुले बहिष्कार र जातीय भेदभाव झेलेर जीवनयापन गर्न बाध्य भएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरु र अस्थायी आप्रवासीहरुले रोजगारी गुमाएका छन् र बाँच्नका लागि आधारभूत कुराहरु पनि किन्न सकिरहेका छैनन् । हरेक ५ जनामध्ये तीन जनाले आफूहरुले यो महामारीको समयमा भोग्नुपरेको तिरस्कार र भेदभावका कारण अरु कसैलाई पढ्न वा काम गर्नको लागि अस्ट्रेलिया जाउ भनेर नभन्ने स्थितिमा पुगेको बताएका छन् ।

जुलाइ महिनामा ६ हजार १०५ विदेशी विद्यार्थी र अस्थायी आप्रवासीमा गरिएको एक सर्वेक्षणमा सहभागीहरु मध्ये ७० प्रतिशतले पूरै अथवा अधिकांश काम गुमाइसकेको बताएका छन् । हजारौंको संख्यामा खाना र भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । सर्वेक्षणमा सहभागीहरुमध्ये नेपाली ७ प्रतिशत अर्थात झण्डै ४२८ जना थिए । यी नेपालीमध्ये ६९ प्रतिशत अर्थात करिब २९५ जनाले अरुलाई अस्ट्रेलिया पढ्न वा काम गर्न नपठाउने बताएका छन् । युनिभर्सिटी अफ न्यू साउथ वेल्सकी कानुनकी एसोसिएट प्रोफेसर बासिना फार्बेन्ब्लम र युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी कानुनकी एसोसिएट प्रोफेसर तथा आप्रवासी श्रमिक न्याय अभियानकी उपनिर्देशक लाउरी बर्गले यो अध्ययन गरेका हुन् ।

सर्वेक्षणमा सहभागीहरुमध्ये ५७ प्रतिशतले यो वर्षको अन्त्यसम्म उनीहरुको आर्थिक समस्या झनै गहिरिने बताएका छन् । एक तिहाइ विदेशी विद्यार्थीहरुले आफूसँग भएको पैसा अक्टोबर महिनाको अन्त्यसम्म सकिने बताएका छन् । हजारौंले अस्ट्रेलियाको संघीय सरकारले अस्थायी आप्रवासीलाई ‘जबकिपर’ र ‘जबसिकर’को सुविधाबाट बञ्चित गराउने निर्णय गरेको प्रति पीडा र आक्रोश व्यक्त गरेका छन् । रिपोर्टका अनुसार उनीहरुले ‘आफ्नो खर्च आफैं चलाउन नसक्नेहरु घर जाउ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन् ।

‘उनीहरुले आफूलाई परित्याग गरिएको र निकम्मा ठानिएको भाव व्यक्त गर्दै भने – उनीहरुले हाम्रो अस्तित्व छ भन्ने नै ठान्दैनन्, उनीहरुले हामीलाई देख्दैनन्, उनीहरुले हामीलाई सुन्दैनन्’ रिपोर्टमा भनिएको छ । सर्वेक्षणका सहभागीमध्ये एक चौथाइले आफूहरुलाई जातीय दुर्व्यवहार गरिएको र एक चौथाइले आफूहरुको शारीरिक रंगका कारण मानिसहरु तर्किने गरेको बताए । सर्वेक्षणमा सहभागी चिनियाँमध्ये आधाभन्दा बढीले यी दुवै दुर्व्यवहार वा दुईमध्ये कुनै एक दुर्व्यवहार भोगेको बताए । १६०० भन्दा धेरै सहभागीहरुले विदेशीलाई घृणाले हेर्ने किसिमका व्यवहार भोगेको बताए । उनीहरु एसियाली भएकै कारण उनीहरु कोरोनाभाइरसबाट संक्रमित भएको जस्तो व्यवहार गर्ने र मास्क लगाएका कारण दुर्व्यवहार गरिएको बताए ।

अनुसन्धानकर्ता फार्बेन्ब्लमले भनिन् ‘कैयौंले उनीहरुको एसियाली लुकका कारण उनीहरुलाई मुक्का हानिएको, कुटपिट गरिएको, लात्तीले हानिएको, धकेलिएको, जानीजानी थप्पड हानिएको र सार्वजनिक यातायातमा उनीहरुलाई लक्षित गरी खोकिएको समेत बताएका छन् ।’ एक भियतनामी महिला विद्यार्थीले मानिसहरुले उनीप्रति जातीय टिप्पणी गर्ने गरेको बताइन् । ‘उनीहरुले म कोभिडको कारक हुँ र म त्यहाँबाट अन्तै जानुपर्छ भन्दै मलाई धकेले’ उनले भनिन् । एक चिनियाँ विद्यार्थीले स्कुलबाट घर जाँदा बाटोमा आफूलाई अण्डाले हिर्काइएको बताए ।

महामारीमा आफूले भोगेको दुर्व्यवहार सम्झिँदै हरेक ५ मध्ये ३ सहभागीले अरु कसैलाई पढ्न वा काम गर्नको लागि अस्ट्रेलिया जान भन्ने पक्षमा नभएको बताए । यसमा अस्ट्रेलियाका सबैभन्दा ठूला शैक्षिक बजारहरु पनि पर्छन् । ७६ प्रतिशत चिनियाँ र ६९ प्रतिशत नेपालीले यस्तो बताएका हुन् । अस्ट्रेलिया पढ्न जाने विदेशी विद्यार्थीमा सबैभन्दा धेरै चिनियाँ, दोस्रोमा भारतीय र तेस्रो ठूलो संख्या नेपालीको छ । ‘मलाई यस्तो महसुस भयो कि अस्ट्रेलिया सरकारले अस्थायी भिसा धारकलाई मानिस नै सोच्दैन, केवल पैसा कमाउने मेसिनमात्र सोच्छ’ भारतकी एक महिला विद्यार्थीले भनिन् ‘यो आश्चर्यजनक छ कि प्रधानमन्त्रीले आफ्नो देशका नागरिकलाई हामी सबै साथमा छौं भनेर सान्त्वना दिइरहेका छन् र आप्रवासीलाई महामारीको बेला घर जान भनिरहेका छन् ।’

सर्वेक्षणका अनुसार हरेक ५ मध्ये एक जनाले आफ्नो देशको सीमा बन्द भएका कारण देश फर्किन नसकेको संकेत गरे । अर्का एक विदेशी विद्यार्थीले भने ‘हामी कर तिर्नका लागि महत्वपूर्ण छौं । हामीले देशको अर्थतन्त्रमा विश्वविद्यालय शुल्कको रुपमा अरबौं डलर योगदान गर्छौं । तर, हामीलाई छुन नहुने प्रजातिको रुपमा व्यवहार गरिन्छ । यो पूरै कपटी व्यवहार हो ।’ अनुसन्धानकर्ता बर्गले अस्ट्रेलियाले यी नीतिहरुको कूटनैतिक र आर्थिक परिणाम आउँदा दशकौंसम्म भोग्नुपर्ने चेतावनी दिएकी छिन् । ‘अहिले अस्ट्रेलियामा पीडित भएका यिनीहरु व्यवसाय र राजनीतिमा नेतृत्वकर्ता बन्नको लागि घर फर्किनेछन् । उनीहरुको क्षेत्रमा सामाजिक रुपमा प्रभावशाली भूमिका हुनेछ । यो अवधिमा उनीहरुले भोगेको अनुभवलाई उनीहरुले छिटै बिर्सिने छैनन्’ बर्गले भनेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *