न प्रचार गरिन् न भोट मागिन् तर अफिस सफा गर्ने महिलाले जिल्ला प्रमुखको चुनाब जितिन्

डिसी नेपाल
१८ असोज २०७७ १२:३३

काठमाडौं। रुसमा हालै भएको भएको स्थानीय निर्वाचनमा एउटा जिल्लामा आएको परिणामले पूरै विश्वलाई चकित पारिदिएको छ । यहाँ एक महिला विगत ५ वर्षदेखि एउटा कार्यालयमा सरसफाइको काम गर्थिन् । अहिले चुनाव जितेर उनी त्यही कार्यालयकी प्रमुख भएकी छिन् । रुसको स्थानीय निर्वाचनमा अप्रत्याशित रुपमा नतिजा उल्टिएपछि यस्तो अद्भूत घटना भएको हो ।

रुसी मिडिया एमकेलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार यहाँ हुन लागेको निर्वाचनमा पोभालिका जिल्ला प्रमुख पदमा एक जना मात्र उम्मेदवार भए । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीका उम्मेदवार थिए । पुटिनको पार्टीका उम्मेदवार निकोलाइविरद्ध चुनाव लड्न कोही पनि तयार भएनन् । अन्ततः उनी निर्विरोध निर्वाचित हुने स्थिति आयो । निकोलाइ यसअघि पनि सोही जिल्लाको प्रमुख थिए ।

निकोलाइले चुनावमा पारदर्शिता भएको देखाउन र आफू निर्विरोध निर्वाचित नभइ चुनाव जितेरै आएको देखाउन आफ्नै कार्यालयमा सफाइको काम गर्ने मरिना उद्गोद्सकायालाई चुनावमा आफ्नो विपक्षमा उठाए । मरिनाले कुनै पनि हालतमा चुनाव जित्दिनन् भन्ने निकोलाइले सोचेका थिए । तर, चुनावको परिणाम आउँदा नतिजा अप्रत्याशित रुपमा उल्टियो र मरिनाले निकोलाइलाई हराउँदै चुनाव जितिन् । मरिनाले ६२ प्रतिशत मत प्राप्त गरेकी थिइन् । अब मरिना १५५ वर्गकिलोमिटर क्षेत्रफल भएको जिल्लाकी प्रमुख हुन् ।

मरिना आफैंले पनि स्थानीय मिडियासँग कुरा गर्दै आफूले चुनाव जित्छु भन्ने सोच्दै नसोचेको बताएकी छिन् । चुनाव जित्ने अपेक्षा समेत नगरेकी मरिनाले चुनावको लागि प्रचारको कुनै कार्यक्रम गरेकी थिइनन् । उनले कसैसँग भोट मागेकी पनि थिइनन् । विगत ५ वर्षदेखि निकोलाइको कार्यालयमा काम गर्ने मरिनाले अब निकोलाइलाई नै हुत्याएर उनकै कुर्सी कब्जा गरेकी छिन् । मरिनाले अब यो पदको जिम्मेवारी बुझ्दै कामको योजना बनाइरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *