ताइवानमाथि बलपूर्वक कब्जा नगर्न चीनलाई अमेरिकाको चेतावनी
काठमाडौं। चीनले ताइवानमाथि बलपूर्वक कब्जा गर्ने बताएलगत्ते अमेरिकाले चीनलाई यस्तो नगर्न चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहका रोबर्ट ओब्रायनले बुधबार चीनलाई ताइवानलाई बलपूर्वक आफूमा विलय गराउने कोसिस नगर्न सचेत गराएका हुन् । ओब्रायनले ताइवानमाथि आक्रमण गर्नु चीनको लागि निकै खतरनाक हुने समेत बताए । उनले अमेरिकाले यसको जवाफ कसरी दिन्छ भन्ने अनुमान गर्न समेत कठिन भएको बताए ।
ओब्रायनले युनिभर्सिटी अफ नेवाडामा आयोजित एक कार्यक्रममा भने ‘दोस्रो विश्वयुद्धपहिले बेलायतको रोयल नेभीको सामना गर्न जसरी जर्मनीले तयारी गरिरहेको थियो त्यस्तै गरी चीन पनि नौसेनालाई बलियो बनाउन लागिपरेको छ । तर, समस्या यो छ कि आइल्याण्डको बीचमा ल्याण्डिङ निकै कठिन हुन्छ ।’ चीन र ताइवानबीच १६० किलोमिटरको दूरी भएकोले ताइवानमाथि आक्रमण गर्नु चीनको लागि सजिलो नभएको उनले बताए । अहिले चीनले ताइवानको नजिक निरन्तर सैन्य गतिविधि बढाइरहेको छ ।
चीनले ताइवानलाई सैन्य तरिकाले आफूमा विलय गराउने प्रयास गरेमा अमेरिकाले के गर्छ भन्ने प्रश्नमा ओब्रायनले भने ‘यसबारेमा अहिले प्रस्ट रुपमा केही भन्न सकिँदैन ।’ अमेरिकाले ताइवानलाई आफ्नो सुरक्षाको लागि हतियार उपलब्ध गराइरहेको छ । यद्यपि अहिलेसम्म अमेरिकाले यो स्पष्ट पारेको छैन कि चीनले आक्रमण गरेको स्थितिमा अमेरिकाले सैन्य तरिकाले दखल दिन्छ वा दिँदैन । ओब्रायनले ताइवानलाई आफ्नो रक्षा बजेट बढाउन र सैन्य सुधार ल्याउने प्रयास गर्न आग्रह गरे ताकि चीनतर्फबाट हुने कुनै आक्रमणलाई रोक्न् सकियोस् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment