कोरोना संक्रमित ट्रम्प भोलिदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुने

डिसी नेपाल
२३ असोज २०७७ १४:०५
32
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबारदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् । कोरोनाभाइरस संक्रमित राष्ट्रपति ट्रम्पका डाक्टर सीन कोनलेले बिहीबार राती ट्रम्पले शनिबारदेखि सार्वजनिक कार्यक्रममा भाग लिन सक्ने बताए । यससँगै अब ट्रम्पका लागि चुनाव प्रचारका कार्यक्रममा सहभागी हुन र दोस्रो राष्ट्रपतीय बहसमा सहभागी हुन बाटो खुलेको छ । डा. कोनलेको यो बयानपछि केहीले आश्चर्य पनि जनाएका छन् । किनकि डा. कोनलेले ट्रम्पले उपचार पूरा गरेको बताएका छन् । ट्रम्पले २ अक्टोबरका दिन दिउँसो १ बजे आफू र पत्नी मेलानिया कोरोना संक्रमित भएको बताएका थिए ।

यसमा सबैभन्दा आश्चर्यको कुरा के हो भने ट्रम्प र उनका डाक्टरले उनी पोजेटिभ कहिले भएको भनेर बताएका थिए । तर ट्रम्प र डा. कोनले दुवैले ट्रम्पको नेगेटिभ रिपोर्ट कहिले आयो भन्ने कुरा बताउन चाहिरहेका छैनन् । ह्वाइस हाउसको प्रेस विभागले पनि यसबारे केही बताएको छैन । शुक्रबार अमेरिकी सेनाको सबैभन्दा ठूलो अस्पताल वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना गरिएका ट्रम्पलाई सोमबार डिस्चार्ज गरिएको थियो । त्यसपछि राष्ट्रपति निकै सक्रिय देखिएका छन् ।

केही मिडिया रिपोर्टमा प्रस्ट रुपमा उपचारका क्रममा ट्रम्पलाई अक्सिजन दिनुपरेको उल्लेख गरिएको छ । उनको रगतमा अक्सिजन लेभल पनि कम भएको थियो । उनको फोक्सोमा पनि संक्रमणको जानकारी आएको थियो । यद्यपि डा. कोनलेसँग बिहीबार राती यसबारे सोधिँदा उनले केही पनि बताउन अस्वीकार गरे । उनले केवल यत्ति भने – राष्ट्रपतिको हालत स्थिर छ ।

शनिबारबाट राष्ट्रपति ट्रम्पले सार्वजनिक कार्यक्रममा भाग लिन सक्नेछन् । मिडिया रिपोर्टमा गरिएको दावीअनुसार ट्रंम्प अघिल्लो बिहीबार संक्रमित भएका थिए । कोनलेले भनेका छन् – म आशा गर्छु शनिबारदेखि राष्ट्रपति मानिसहरुसँग भेट्न सक्नुहुनेछ र सार्वजनिक कार्यक्रममा भाग लिन सक्न्ुहुनेछ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले भने पोजेटिभ पाइएका हरेक व्यक्तिलाई १० दिनसम्म आइसोलेसनमा बस्न र धेरै लक्षण देखिएकालाई २० दिन आइसोलेट गर्न भनेको छ ।

ह्वाइट हाउसको एक सूत्रका अनुसार राष्ट्रपतिले शनिबारदेखि हुने कार्यक्रममा सहभागी हुन तयारीपनि सुरु गरिसकेका छन् । यसबारेमा बिहीबार एउटा बैठक पनि भएको थियो । ट्रम्पका अभियान म्यानेजरले पनि प्रस्ट पारिसकेका छन् कि ट्रम्प दोस्रो राष्ट्रपतीय बहसमा भाग लिन तयार छन् । राष्ट्रपतिय बहस आयोगले बहस भर्चुअल पनि हुन सक्ने बताएको छ तर ट्रम्प यसका लागि तयार छैनन् । यसबारे अन्तिम निर्णय हुन बाँकी नै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.