कोरोनाभाइरसका विषयमा अरुमाथि प्रश्न उठाउने ट्रम्प आफैं प्रश्नको घेराबन्दीमा

डिसी नेपाल
२५ असोज २०७७ ११:४३
672
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनाभाइरसबाट संक्रमित हुनु अहिले अमेरिकामा अहम मुद्दा बनेको छ । संक्रमणपछि अस्पताल भर्ना भएका ट्रम्प अस्पतालबाट ह्वाइट हाउस पुगिसकेका छन् तर अहिलेसम्म ट्रम्प संक्रमणमुक्त भएको पुष्टि भएको छेन । उनको जाँचको रिपोर्ट नेगेटिभ आएको जानकारी कतैबाट आएको छैन । यही कारण ट्रम्प प्रश्नको घेराबन्दीमा परेका छन् ।

शनिबार ट्रम्पका टाक्टरले एक बयान जारी गर्दै ट्रम्पबाट अन्य मानिसहरुलाई भाइरस सर्ने खतरा अब नभएको बताएका थिए । यद्यपि उनले ट्रम्पको परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताएनन् । अर्कोतर्फ ट्रम्पले पनि अब आफूले कोरोनाको औषधि लिन बन्द गरेको घोषणा गरेका छन् । तर, ट्रम्पको यो दावीमाथि पनि प्रश्न उठिरहेका छन् । शनिबार मात्र ट्रम्पका केही तस्वीरहरु सार्वजनिक भएका थिए । यी तस्वीरमा ट्रम्पको हातमा नयाँ ब्यान्डेज लगाइएको देखिएको छ ।

डेलिमेलको रिपोर्टअनुसार यी ब्यान्डेजको अर्थ उनलाई अहिले पनि औषधि दिने क्रम जारी रहेको हुन सक्ने विशेषज्ञले बताएका छन् । मेडिकल एक्सपर्टका अनुसार ट्रम्पको हातमा जहाँ ब्यान्डेज लगाइएको छ त्यो ठाउँ आम रुपमा आइभी फ्लुड दिनको लागि प्रयोग गरिन्छ । अपवादको रुपमा मात्र त्यहाँबाट जाँचको लागि रगतको नमूना लिइन्छ । ट्रम्प कोरोनाभाइरसबाट बिरामी भएलगत्तै पनि विशेषज्ञले कैयौं प्रश्न उठाएका थिए किनकि राष्ट्रपतिको तर्फबाट पूरा जानकारी दिइएको थिएन ।

अहिले अमेरिकी मिडिया र मेडिकल एक्सपर्टले सोधिरहेका छन् कि पहिलो पटक ट्रम्प कहिले पोजेटिभ पाइए ? ट्रम्प कोरोनाबाट कति गम्भीर बिरामी भए ? किनकि ट्रम्प अस्पतालमा भएका बेला ह्वाइट हाउसका अधिकारीले ट्रम्पका महत्वपूर्ण अंगहरुको हालत चिन्ताजनक भएको बयान दिएका थिए । तर, पछि यो बयानलाई खारेज गरियो ।

उता अमेरिकाको प्रमुख स्वास्थ्य नियामक संस्था सीडीसीले पनि कोरोनाबाट गम्भीर बिरामीहरु २० दिनसम्म आइसोलेट रहनुपर्ने बताएको छ । तर, ट्रम्प कोरोनाबाट बिरामी भएको १० दिन मात्र भएको छ । साउथ क्यारोलिनाकी संक्रामक रोग विशेषज्ञ डा. क्रुतिका कुप्पली भन्छिन् ‘मलाई लाग्दैन ट्रम्प पूर्ण रुपमा खतराबाट बाहिर आइसकेका छन् । ७४ वर्षको उमेर, अधिक तौलको कारण उनी कोरोनाको जोखिमयुक्त वर्गमा पर्छन् ।’

ट्रम्पले भोलि सोमबार एक चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यो कार्यक्रममा ट्रम्प सहभागी हुने भएपछि उनीबाट अरु मानिसहरु संक्रमित हुन सक्ने त्रास पनि बढेको छ । अर्कोतर्फ ट्रम्पका डाक्टरको बयानको अर्थ उनको शरीरमा भाइरसको मात्र घटिरहेको तर उनी पूर्ण रुपमा संक्रमणमुक्त भइनसकेको रुपमा बुझिएको छ । यद्यपि यसबारेमा आधिकारिक जानकारी कतैबाट आएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.