‘मास्क लगाउनेहरु जतिबेला पनि संक्रमित भइरहेका हुन्छन्’
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउनेहरु कोरोनाभाइरसबाट धेरै संक्रमित हुने दावी गरेका छन् । यद्यपि आफ्नो यो दावीलाई पुष्टि गर्न उनले कुनै प्रमाण भने दिएनन् । ट्रम्प कैयौं पटक सार्वजनिक कार्यक्रममा बिना मास्क देखिने गरेका छन् । हालै उनी कोरोनाभाइरसबाट संक्रमित समेत भएका थिए । यद्यपि अहिले उनी धेरै हदसम्म ठिक भइसकेका छन् र आफ्नो चुनावी कार्यक्रममा सहभागी भइरहेको छ ।
समाचार एजेन्सी एपीका अनुसार बिहीबार मियामीमा एनबीसी न्यूज टाउनहल कार्यक्रममा उनीसँग ह्वाइट हाउसमा २६ सेप्टेम्बरमा आयोजित सभाको बारेमा सोधिएको थियो जसमा धेरै मानिसहरु सहभागी थिए । यो सभामा अधिकांश सहभागीहरु बिना मास्क देखिएका थिए । यतिमात्र होइन यो कार्यक्रमपछि स्वयं ट्रम्प, फर्स्ट लेडी मेलानियासहित धेरै संक्रमित भएका थिए । यी सबैमा यही सभाबाट संक्रमण फैलिएको विश्वास गरिएको छ ।
प्रश्नको जवाफमा ट्रम्पले फेस मास्क लगाउनेहरु धेरै संक्रमित भइरहेको बताए । यद्यपि यसअघि उनले आफ्नो मास्क लगाउँदा सहज भएको बताएका थिए । अर्कोतर्फ अमेरिकाको सेन्टर फर डिजिज कन्टेल एण्ड प्रिभेन्सन (सीडीसी)का निर्देशकले भने विश्व भ्याक्सिन नभएको समयबाट गुज्रिरहेको र भ्याक्सिन अहिले विकासको क्रममा रहेकोले फेस मास्क लगाउनु सुरक्षाको सबैभन्दा राम्रो तरिका रहेको बताएका छन् ।
उता ट्रम्प भने मास्क लगाउने मुडमै नभएको देखिएको छ । हालै संक्रमणपछि ठिक भएर ट्रम्पले पेन्सलभेनियास्थित जोन मुर्था जोन्सटाउनको क्याम्ब्रिया काउन्टी विमानस्थलमा एक कार्यक्रमलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ट्रम्पले आफ्नो मास्क खोलेर त्यहाँ रहेका समर्थकको भीडतर्फ फ्याँकेका थिए । यसअघि पनि ट्रम्पले आफू कोरोना संक्रमणबाट ठिक भएको दावी गर्ने क्रममा उनले पत्रकारको अगाडि मास्क खोलेका थिए ।







डिसी नेपाल








Facebook Comment