डोनाल्ड ट्रम्पले नाइल नदीको बाँध ‘इजिप्टले उडाइदिन्छ’ भनेपछि इथियोपिया आक्रोशित
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टले नाइल नदीमा इथियोपियाले बनाएको विवादित बाँध उडाइदिन सक्ने टिप्पणी गरेपछि इथियोपियाका प्रधानमन्त्रीले आफ्नो देश ‘कुनै पनि प्रकारको आक्रामकतामा नपर्ने’ बताएका छन् । पछिल्लो समय नाइल नदीमा बनेको ग्रयाण्ड इथियोपियन रेनाइसेन्स बाँध इथियोपिवया, इजिप्ट र सुडानबीच लामो समयदेखि चलिरहेको विवादको केन्द्रमा छ ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्ट यो बाँधको साथमा बाँच्न नसक्ने र सम्भवतः यसलाई उडाइदिने टिप्पणी गरेका थिए । इथियोपियाले यो विवादमा अमेरिकालाई इजिप्टको पक्षमा रहेको मान्दै आएको छ । गएको जुलाइमा इथियोपियाले यो बाँधपछाडिको रिजर्भ्यायर भर्न थालेपछि सेप्टेम्बरमा अमेरिकाले इथियोपियालाई दिँदै आएको सहयोगमा कटौती गर्न सक्ने घोषणा गरेको थियो । शनिबार इथियोपियाका विदेशमन्त्रीले अमेरिकी राजदूतलाई राष्ट्रपति ट्रम्पको भनाइ प्रस्ट पार्न लिखित स्पष्टीकरण सोधेका छन् ।
इजिप्टको पानीको आपूर्तिको ठूलो हिस्सा नाइल नदीमा निर्भर छ । अफ्रिकाको सबैभन्दा लामो यो नदीको बहावलाई इथियोपियाले बाँध बनाएर नियन्त्रण गरेपछि यसले इजिप्टको चिन्ता बढाएको छ किनकि नाइलको बहाव इथियोपियाको नियन्त्रणमा हुँदा यसले इजिप्टको पानी आपूर्ति कटौती हुन्छ र उसको अर्थतन्त्रमा नकारात्मक असर पर्छ । अर्कोतर्फ पश्चिमी इथियोपियामा बनिरहेको यो ४ अर्ब डलरको विशाल संरचना पूरा भएपछि अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत परियोजना बन्नेछ ।
अब इथियोपियाले यो बाँध जुन गतिले भर्नेछ त्यही अनुपातमा इजिप्ट प्रभावित हुनेछ । यो प्रक्रियाका लागि केही वर्ष लाग्ने अनुमान गरिएको छ । उता सुडान इजिप्टभन्दा केही कम प्रभावित हुने भए पनि पानीको आपूर्ति रोकिने विषयमा चिन्तित छ । इथियोपियाले यो बाँध निर्माणको घोषणा २०११ मा गरेको थियो र उसले यो बाँध आफ्नो आर्थिक विकासको लागि आवश्यक भएको जवाफ दिएको छ । यी तीन देशबीचको छलफल पहिले अमेरिकाको नेतृत्वमा भइरहेको थियो भने अहिले अफ्रिकी संघले मध्यस्थता गरिरहेको छ ।
पछिल्लो पटक इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सिधै ट्रम्पको नाम लिएनन् तर उनको भनाइ घुमाउरो तरिकाले ट्रम्पप्रति लक्षित थियो । उनले इथियोपियाले यो बाँध पूरा गर्ने बताए । ‘इथियोपिया कुनै पनि किसिमको आक्रामकतामा फस्ने छैन’ उनले एक वक्तव्यमा भनेका छन् ‘इथियोपियालीहरु आफ्ना दुश्मनको आज्ञा पालन गर्नको लागि कहिल्यै घुँडा टेकेका छैनन् बरु मित्रहरुको सम्मानमा झुकेका छन् । हामीले यस्तो आज वा भविष्यमा कहिल्यै गर्ने छैनौं ।’ उनले यस विषयमा कुनै किसिमको धम्कीलाई दिशाहीन, अनुत्पादक र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भनेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment