डोनाल्ड ट्रम्पले नाइल नदीको बाँध ‘इजिप्टले उडाइदिन्छ’ भनेपछि इथियोपिया आक्रोशित

डिसी नेपाल
९ कार्तिक २०७७ ९:४४

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टले नाइल नदीमा इथियोपियाले बनाएको विवादित बाँध उडाइदिन सक्ने टिप्पणी गरेपछि इथियोपियाका प्रधानमन्त्रीले आफ्नो देश ‘कुनै पनि प्रकारको आक्रामकतामा नपर्ने’ बताएका छन् । पछिल्लो समय नाइल नदीमा बनेको ग्रयाण्ड इथियोपियन रेनाइसेन्स बाँध इथियोपिवया, इजिप्ट र सुडानबीच लामो समयदेखि चलिरहेको विवादको केन्द्रमा छ ।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्ट यो बाँधको साथमा बाँच्न नसक्ने र सम्भवतः यसलाई उडाइदिने टिप्पणी गरेका थिए । इथियोपियाले यो विवादमा अमेरिकालाई इजिप्टको पक्षमा रहेको मान्दै आएको छ । गएको जुलाइमा इथियोपियाले यो बाँधपछाडिको रिजर्भ्यायर भर्न थालेपछि सेप्टेम्बरमा अमेरिकाले इथियोपियालाई दिँदै आएको सहयोगमा कटौती गर्न सक्ने घोषणा गरेको थियो । शनिबार इथियोपियाका विदेशमन्त्रीले अमेरिकी राजदूतलाई राष्ट्रपति ट्रम्पको भनाइ प्रस्ट पार्न लिखित स्पष्टीकरण सोधेका छन् ।

इजिप्टको पानीको आपूर्तिको ठूलो हिस्सा नाइल नदीमा निर्भर छ । अफ्रिकाको सबैभन्दा लामो यो नदीको बहावलाई इथियोपियाले बाँध बनाएर नियन्त्रण गरेपछि यसले इजिप्टको चिन्ता बढाएको छ किनकि नाइलको बहाव इथियोपियाको नियन्त्रणमा हुँदा यसले इजिप्टको पानी आपूर्ति कटौती हुन्छ र उसको अर्थतन्त्रमा नकारात्मक असर पर्छ । अर्कोतर्फ पश्चिमी इथियोपियामा बनिरहेको यो ४ अर्ब डलरको विशाल संरचना पूरा भएपछि अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत परियोजना बन्नेछ ।

अब इथियोपियाले यो बाँध जुन गतिले भर्नेछ त्यही अनुपातमा इजिप्ट प्रभावित हुनेछ । यो प्रक्रियाका लागि केही वर्ष लाग्ने अनुमान गरिएको छ । उता सुडान इजिप्टभन्दा केही कम प्रभावित हुने भए पनि पानीको आपूर्ति रोकिने विषयमा चिन्तित छ । इथियोपियाले यो बाँध निर्माणको घोषणा २०११ मा गरेको थियो र उसले यो बाँध आफ्नो आर्थिक विकासको लागि आवश्यक भएको जवाफ दिएको छ । यी तीन देशबीचको छलफल पहिले अमेरिकाको नेतृत्वमा भइरहेको थियो भने अहिले अफ्रिकी संघले मध्यस्थता गरिरहेको छ ।

पछिल्लो पटक इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सिधै ट्रम्पको नाम लिएनन् तर उनको भनाइ घुमाउरो तरिकाले ट्रम्पप्रति लक्षित थियो । उनले इथियोपियाले यो बाँध पूरा गर्ने बताए । ‘इथियोपिया कुनै पनि किसिमको आक्रामकतामा फस्ने छैन’ उनले एक वक्तव्यमा भनेका छन् ‘इथियोपियालीहरु आफ्ना दुश्मनको आज्ञा पालन गर्नको लागि कहिल्यै घुँडा टेकेका छैनन् बरु मित्रहरुको सम्मानमा झुकेका छन् । हामीले यस्तो आज वा भविष्यमा कहिल्यै गर्ने छैनौं ।’ उनले यस विषयमा कुनै किसिमको धम्कीलाई दिशाहीन, अनुत्पादक र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *