सरकार ढाल्न दिनरात बैठक !

मदन कोइराला
१६ कार्तिक २०७७ १०:५१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकलौटी गरेको भन्दै असन्तुष्टि व्यक्त गर्न बालुवाटार पुगेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले उल्टै असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकार ढाल्न दिनरात बैठक गरेको भन्दै सरकारलाई काम गर्न नदिएको अरोप लगाएका छन्।

शनिबार ११ दिन लामो संवादहीनता अन्त्य गर्दै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीसँगको भेटमा प्रचण्डले ओलीले पार्टी र सरकारमा एक लौटी गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले आफूले सबै काम कार्यकारी अध्यक्ष प्रचण्डसँगको समन्वयमा गर्दै आएको तर प्रचण्ड र माधव नेपाल पक्षधरले दुई तिहाइ बहुमतको सरकारलाई सिन्को भाँच्नसमेत नदिएको बताएका थिए।

उक्त छलफलमा प्रचण्डले आफूलाई एक्ल्याउन माधव नेपाल पक्षधरसँग सम्बन्ध बढाउन खोजेको बताएका थिए। जवाफमा ओलीले ‘माधव नेपाल सरकारलाई जसरी पनि ढाल्नुपर्छ भनेर तपाईँसँगै मिलेर दैनिक बैठक गरिरहनु भएको छ। मैले त सबैसँग मिलेर पार्टी र सरकार अगाडि बढाउनु पर्छ भन्ने गरेको छु। तर उहाँ सरकार ढाल्न दिनरात बैठक गर्दै हुनुहुन्छ’ भन्ने जवाफ दिएका थिए।

ओलीले ‘माधव नेपाल सरकारलाई जसरी पनि ढाल्नुपर्छ भनेर तपाईँसँगै मिलेर दैनिक बैठक गरिरहनु भएको छ। मैले त सबैसँग मिलेर पार्टी र सरकार अगाडि बढाउनु पर्छ भन्ने गरेको छु। तर उहाँ सरकार ढाल्न दिनरात बैठक गर्दै हुनुहुन्छ’ भन्ने जवाफ दिएका थिए।

केही समय अगाडि प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत लागिपरेको बताएपछि पार्टीभित्र प्रचण्ड र नेपाल पक्षधरले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। विवाद बढ्दै जाँदा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। कार्यदलले प्रतिवेदन दिएपछि नेकपाभित्रको विवाद साम्य भएको थियो।

प्रधानमन्त्री ओलीले दुई तिहाईको सरकारले सिन्को भाँच्न नदिने गरी काममा अवरोध गर्ने, सचिव सरुवा गर्दासमेत पार्टीबाट अवरोध हुने, सबै काम कार्यकारी अध्यक्षको सल्लाहमा नै गर्दासमेत बारम्बार गुनासो गर्ने गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रचण्डले कर्णाली विवादका विषयमा लामो चर्चा गरेका थिए। त्यसको काउन्टर जवाफ दिँदै ओलीले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने सात जना माधव नेपाल पक्षधरले पछि मुख्यमन्त्रीसँगै मिलेर आफू पक्षका दुई जना मन्त्रीलाई कान निमोठेर बाहिर निकाल्नुपर्छ भनेर खेल खेलेकाे बताएका थिए। ओलीले माधव नेपाल पक्षले दुई अध्यक्षबीच फाटो ल्याउने काम गरेको र त्यसका कोही प्रमाण आफूसँग रहेको बताएका थिए।

पार्टी विभाजन सम्बन्धि अध्यादेशको चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा सरकारले बैशाख ८ गते राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउँदा सरकारको चर्को र चौतर्फी आलोचना भएको थियो। विशेष गरी नेकपाका नेतहरुले नै अध्यादेश फिर्ता लिन सरकारलाई दबाव दिएका थिए।

पछि दबाबमा परेको सरकारले राष्ट्रपति समक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेपछि राष्ट्रपतिले वैशाख १२ गते अध्यादेश खारेज गरेकी थिइन्। त्यो बेला प्रधानमन्त्री ओलीले आफ्नै पार्टी नेकपा विभाजन गर्न अध्यादेश ल्याएको आरोप लागेको थियो।

राष्ट्रपतिले अध्यादेश खारेज गरिसकेपछि अहिले नेकपाभित्र फेरि राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेशका विषयमा चर्चा हुन थालेको छ।

सरकारले गर्ने हरेक क्रियाकलापमा कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले गुनासो गर्ने र आफूले भने बमोजिम नगरेको भन्दै विरोध गर्ने, उता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले दुई तिहाइ बहुमतको सरकारलाई कामै गर्न नदिएको भन्दै आफू निकटसँग गुनासो गर्न थालेपनि अहिले नेकपाभित्र फेरि राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेशको चर्चा हुन थालेको हो।

स्रोतका अनुसार शनिबार भएको छलफलमा प्रचण्डले सबै चीजमा विमति राखेर सँगै बस्न सकिन्छ कि सकिँदैन भन्ने आयश व्यक्त गरेका थिए। प्रचण्डले पार्टीपंक्तिमा राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश फेरि ल्याएर सहयात्रा टुंग्याउनु पर्ने विचार उत्पन्न हुन थालेको बताएका थिए।

‘प्रचण्ड कमरेडले बैठकमा आफैंले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनुस भनेर प्रस्ताव गर्नु भएको होइन,’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘उहाँले बाहिर पार्टीपंक्तिमा यस्तो आवाज उठ्न थालेको छ भन्ने प्रसंग उठाउनु भएको हो।’

तर अब सँगै बस्नै नसिकने र मिल्दै नममिल्ने लक्षण हो भने त्यस विषयमा पनि अब सोच्नुपर्ने भेला भएको भन्ने आशय प्रचण्डले व्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेशका विषयमा भने कुनै जवाफ नदिएको स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *