आइपिएल प्लेअफ समीकरणः ३ स्थानका लागि ४ टिमको दौड, अरुको भरोसामा कोलकाता
काठमाडौं। इण्डियन प्रिमियर लिगको जारी सिजनको प्लेअफ समीकरण अन्तिम चरणमा पुगेको छ । कूल ८ टिममध्ये १ टिम मुम्बइ इण्डियन्सले प्लेअफमा आफ्नो स्थान निश्चित गरिसकेको छ र १८ अंक भएको मुम्बइ अंक तालिकाको शीर्षमा रहने प्रस्ट भइसकेको छ । राजस्थान रोयल्स, चेन्नइ सुपरकिंग्स र किंग्स ११ पंजाब बाहिरिइसकेका छन् । प्लेअफका लागि बाँकी ३ स्थानका लागि रोयल च्यालेन्जर्स बैंगलोर, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद दौडमा कायमै छन् । आज र भोलिका खेलबाट यी तीनमध्ये १ टिम बाहिरिनेछ र प्लेअफ समीकरण पूरा हुनेछ ।
आज दोस्रो स्थानमा रहेको बैंगलोर र तेस्रो स्थानमा रहेको दिल्लीबीच खेल हुँदैछ । यो खेल जित्ने टिम अंक तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्नेछ । हार्ने टिमले भने भोलि हुने मुम्बइ इण्डियन्स र सनराइजर्स हैदराबादको खेल पर्खनुपर्नेछ । त्यसमाथि आजको खेल हार्ने टिमले आज कति अन्तरले हार्छ भन्ने कुराले पनि उसको प्लेअफ यात्रा तय गर्नेछ । आज हार्ने टिमले ठूलो अन्तरले हारेर उसको नेट रनरेट कोलकाता नाइटराइडर्सको भन्दा तल झरेको अवस्थामा आज हार्ने टिम बाहिरिने र कोलकाता नाइटराइडर्स प्लेअफ पुग्ने सम्भावना रहन्छ ।
भोलिको खेल मुम्बइ इण्डियन्स र सनराइजर्स हैदराबादबीच हुँदैछ । भोलिको खेल हैदराबादको लागि नकआउट हुनेछ किनकि उसले भोलिको खेल हारेको अवस्थामा प्रतियोगिताबाट बाहिरिनेछ किनकि उसको १२ अंक मात्र छ । तर, भोलिको खेल जितेको अवस्थामा ऊ प्लेअफ पुग्नेछ । किनकि दिल्ली, बैंगलोर र कोलकाताको समान १४ अंक भए पनि हैदराबादको नेट रनरेट यी सबैको भन्दा धेरै उच्च छ र समान अंक भएको अवस्थामा ऊ यी टिमभन्दा माथि रहने सम्भावना उच्च छ ।
अर्थात दिल्ली र बैंगलोरको आज हुने खेलमा सानो अन्तरको हारजित भएमा र हार्नेको नेट रनरेट कोलकाताको भन्दा तल नझरेमा यी दुवै टिम प्लेअफ पुग्नेछन् । यस्तो अवस्थामा भोलिको खेल जिते हैदराबाद प्लेअफ पुग्छ र हैदराबादले हारेमा कोलकाता प्लेअफ पुग्छ । आजको खेलमा हार्ने टिमको नेट रनरेट कोलकाताको भन्दा तल झरेमा र पर्सीको खेल हैदराबादले जितेमा आजको खेल हार्ने टिम बाहिरिनेछ र कोलकाता तथा हैदराबाद प्लेअफ पुग्नेछन् । आजको खेलमा हार्ने टिमले ठूलो अन्तरले हारेर उसको नेट रनरेट कोलकाताको भन्दा तल झरेकै अवस्थामा पनि भोलिको खेल मुम्बइले जितेको अवस्थामा भने बैंगलोर, दिल्ली र कोलकाता नै प्लेअफ पुग्नेछन् ।







डिसी नेपाल








Facebook Comment