‘आहै ! तिहारको झिलिमिली’ छैन बजारमा

धनकुमार कार्की
२३ कार्तिक २०७७ १४:१०

काठमाडौँ। यतिबेला झिलिमिली चाड तिहारको लहरले छोपीसकेको छ। हिन्दुहरुको महान चाड तिहार भन्ने बित्तिकै उज्यालो, रंगीन अनि उल्लासमय तस्वीर आँखा अगाडि आउँछ।

औंसीको रातमा उज्यालो ल्याउन घरघरमा बालिने झिलिमिली बत्ती, रंगी बिरंगी फूलहरु, दियो, खुसीमा पड्काइने पटकाहरू, सप्तरंगी टीका अनि चेली र माइतीको स्नेह साटासाट गर्ने एउटा अवसर तिहारका अवयव हुन्।

भर्खरै दशैं सकिएको छ। दशैँ सकिएलगतै तिहारको तिहारको रौनक सुरु हुन्छ। तर विश्व महामारीका रुपमा फैलिएको कोरोना कहरले विगतका वर्षमा जस्तो यो वर्ष तिहारको रौनक देखिएको छैन।

झिलिमिली चाड तिहार आउन अब केही दिन मात्र बाँकी छ। गाउँघरमा चारैतिर फूलहरु फुलेर ढकमक्क भएका छन्। चेलीबेटीहरुको मन फुरुङ भएको छ। तिहारको पाँचौँ दिनमा भाइटीका पर्छ।

जसमा हिन्दु परम्पराअनुसार भाइ मसला अनिवार्य मानिन्छ। भाइ मसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायत पर्छन्।

त्यसका लागि व्यापारीहरुले दशैँ अघिदेखि नै तयारी गरेर बसेका हुन्छन्। बिगतका वर्षहरुमा तिहारको किनमेलका लागि काठमाडौँको मुख्य बजारहरुमा निकै भिडभाड हुने गर्दथ्यो। तर यो वर्ष तिहार भित्रिनै लाग्दासमेत बजारमा तिहारको रौनक देखिँदैन।

शनिबार असन इन्द्रचोक क्षेत्रमा तिहारको चहल पहल खासै देखिँदैन थियो। तिहारका चहलपहल नभएपनि बाटोमा भिडभाड भने उस्तै। सधंै यसबेला फूल, बत्ती र भाइमसलाको पसलहरुमा मानिसहरु को चाप निकै हुने गर्दथ्यो। कोरोनाको त्रासले गर्दा अधिकांशले यसपाली किनमेल नगर्ने बताएका छन्।

यसले गर्दा व्यापारीहरु चिन्तित बनेका छन्। ‘कोरोनाले छ महिना पसल बन्द गरियो, दशैँमा ब्यापार होला भनेको त्यो पनि भएन तिहार पनि उस्तै हुने भयो, अब त व्यापारबाट पलायन हुने अवस्था आयो,’ असनका एक व्यापरीले भने।

बिगत ८ महिनादेखिको कोरोना महामारीको असर अनि दशैँ बेलामा पनि मन्दी लागेकाले व्यापारी तिहारमा पनि एकपटक फेरि झस्किएका छन्। इन्द्रचोकको गल्लीमा बिगत १० वर्षदेखि भाइमसला र अन्य मसलाको व्यापार गर्दै आएका रवि महर्जनले यस्तो शून्य तिहार कहिल्यै नभएको बताए।

उनका अनुसार यसपाली तिहारका सामग्रीको भाउ घटेको छ तर व्यापार छैन। गत वर्षभन्दा भाइ मसलामा यो वर्ष केजीमै दुई सय जति घटेको छ। उनले भने, ‘बजारमा भिडभाड सधैं जस्तो छ तर व्यापार नै छैन।’

विगत १० वर्षदेखि असनमा व्यापार गर्दै आएका रोजन श्रेष्ठले पनि यसपाली दशैँमा राम्ररी ब्यापार गर्न पाएनन्। पोहोर साल रोजनले तिहारको बेला राम्ररी ब्यापार गरेका थिए। यो पटक कोरोना महामारीले व्यापार नहुने डरले उनले तिहारका लागी सामान पनि थोरै मगाएका छन्।

‘बिक्री नै हुँदैन सामान ल्यायर के गर्नु, दशैंमा ल्याएको सामान अझै बाँकी नै छ’, उनले डिसी नेपालसँग भने , ‘बजारमा मान्छै सधैं झैँ छन् तर सामान कसैले किन्दैनन।’

रोजनले जस्तै अधिकांश व्यापारीले तिहारका लागि यो पटक थोरै सामान मात्र ल्याएका छन्।  यो वर्ष सबैले दशैँजस्तै तिहार पनि किनमेल नगरी आफ्नो घरमै मनाउने योजना बनाएका छन्।

अघिल्लो तिहारमा ३ दाजु भाइका लागि भाइमसला र उपहार र सजावटका बत्तीहरु गरी ३० हजार रुपैयाँभन्दा बढीको किनमेल गरेकी इमाडोलकी बिन्दा दाहालले यसपटक भने किनमेल नगर्ने बताइन्।

तीन दाजु भाइकी एक्ली चेली उनले अघिल्ला वर्षहरूमा तिहार आउनुभन्दा केही दिन अगाडि किनमेल गर्थिन्। तर अहिले भने कोरोना संक्रमण हुने डरले यसपटक घर कै सामान प्रयोग गरेर विधिगत टीका लगाउने भनेर किनमेल गरेकी छैनन्। यी प्रतिनिधि मूलक भनाइले तिहार बजारमा पनि दशैँजस्तै मन्द हुने देखाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *