तनहुँमा चितुवा आतङ्क, स्थानीयवासी त्रसित
दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आतङ्कले स्थानीयवासी त्रसित भएका छन्।
चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन्। शनिबार राति स्थानीयवासी गणेशबहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा खसीबोकालाई आक्रमण गरेको छ। स्थानीयवासी सुरेन्द्र गुरुङका अनुसार चितुवाको आक्रमणबाट पाँच वटा खसीबोका मरेको छ। “घरमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्,” उनले भने।
वडाध्यक्ष सन्तबहादुर गुरुङले बन्दीपुरमा चितुवाको आतङ्क रहेकाले स्थानीयवासी त्रसित रहेको जानकारी दिए। “शनिबार रातिको घटना विवरण चाँही मसँग आइपुगेको छैन,” उनले भने, “चितुवाको आतङ्क भने छ ।” उनका अनुसार केही समय अगाडि भने स्थानीयवासीले पालेका खसीबोकालाई चितुवाले आक्रमण गरी मारेको थियो।
जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिका समेत ज्यान गुमाएका छन्।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment