एनपीएल भारतीय कम्पनीलाई ठेक्का दिने प्रस्ताव मात्रै हो, निर्णय भएको छैन : सचिव प्याकुरेल

एसके शर्मा
४ मंसिर २०७७ १५:००

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार वार्षिक साधारण सभा गरेको छ। कोरोना महामारीका कारण क्यानले भर्चुअल रुपमा गरेका साधारण सभामा बिभिन्न निर्णयहरु भएका छन्।

क्यानले गरेको निर्णयहरु मध्ये सबैभन्दा विबादित निर्णय भनेको नेपाल प्रिमियर लिग (एनपिएल) १० वर्षका लागि भारतीय कम्पनीलाई ठेक्का दिने प्रस्ताव हो। यो निर्णय बाहिर आएसँगै क्यानको सर्वत्र रुपमा आलोचना भइरहेको छ। केहीले यो निर्णयलाई सही बताएपनि अधिकांशले यसको आलोचना र विरोध गरेका छन्।

क्यानको बुधबार सम्पन्न भर्चुअल साधरणसभामा एनपीएल आयोजना गर्नेबारे छलफल भएको थियो। क्यान पदाधिकारीको तर्फबाट एनपीएल आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनी सेभेन ३ स्पोर्टस् प्रालिलाई दिने प्रस्ताव पेश भएको छ।

प्रस्तावअनुसार यो कम्पनीले पहिलो वर्ष करिब साढे २ करोड क्रिकेट संघलाई बुझाउने र, क्रमशः बढाएर १० वर्षमा करिव ४० करोड बुझाउनेछ रहेको छ। तर प्रस्तावित भारतीय कम्पनीले अहिलेसम्म ठूलो खेल प्रतियोगिता आयोजना गरेको रेकर्ड छैन।

यसबारे डिसी नेपालले क्यान सचिव अशोक नाथ प्याकुरेललाई सम्पर्क गर्दा उनले एनपीएल भारतीय कम्पनीलाई ठेक्का दिने प्रस्ताव मात्रै हो, निर्णय नभएको बताएका छन्। उनले क्यानले कम्पनीको बारेमा सबैकुरा बुझेर मात्रै अगाडि बढने बताएका छन्।

क्यानले यो प्रतियोगिता आफै गर्न सक्दैन भन्ने प्रश्नमा उनले क्यानको क्यालेन्डरमा ग्रास रुटदेखि स्कुल लेभललगायत अन्य धेरै प्रतियोगिताहरु गर्नुपरेकोले अन्य म्यानेजमेन्ट कम्पनीलाई दिन लागेको बताए। उनले भारतीय कम्पनीलाई नै दिनुपर्ने कुरामा क्यानमा सहमति नभइसकेको र आवश्यक परेको खण्डमा टेन्डर आह्वान गरेर प्रक्रिया अगाडि बढाउने बताए।

टेन्डर प्रक्रियाबाट अगाडि जाँदा भारत मात्रै नभएर अन्य देशका कम्पनीहरु पनि प्रतिस्पर्धामा आउने र क्यान र नेपाल क्रिकेटलाई फाइदा हुने किसिमले आफुहरु अगाडि बढने उनले बताए।

कोरोना महामारीका कारण अहिले प्रायोजकहरु पाउने सम्भावान कम भइरहेकोले र आईसीसीले वार्षिक रुपमा प्रदान गर्ने रकम नेपाली क्रिकेटको विकासका लागि अपुग भइरहेको अवस्थामा एनपीएल आयोजना गरेर क्यानलाई आर्थिक रुपमा सबल बनाउन क्यानले राम्रा कम्पनीहरुसँग सहकार्य गरेर क्यान अगाडि बढने उनको धारणा छ।

क्यानले एनपीएल भारतीय कम्पनीलाई ठेक्का दिने प्रस्तावको बारेमा बाहिर भएको आलोचनालाई क्यानले सकारात्मक रुपमा लिएको र नेपाली क्रिकेट विकासको लागि उचित समयमा सही कम्पनीसँग सहकार्य गरेर अगाडि बढने प्याकुरेल बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *