जिल्ला हुलाक कार्यालय साेलुखुम्बुमा ४२ केजी चिठ्ठीपत्र थन्कियाे
फाईल तस्बिर
सोलुखुम्बु । जिल्ला हुलाक कार्यालयमा महिनौँदेखिका चिठ्ठीपत्र थन्किएका छन्। कार्यालय प्रमुख सीता दुवाडीले नेपाल वायुसेवा निगमले फाप्लु विमानस्थलमा उडान नभर्दा ४२ केजी चिठ्ठीपत्र कार्यालयमा नै थन्किएको जानकारी दिए।
हप्ताको दुई दिन आइतबार र मङ्गलबार काठमाडाैँ–फाप्लु उडान भर्दै आएको निगमले गत असोज १३ गतेदेखि उडान भर्न सकेको छैन। गत चैत ११ गतेपछि निगमले सो दिन पहिलो पटक उडान भरेको थियो।
निजी हवाई कम्पनीका विमानले भने धमाधम उडान भरिरहेका छन् । समिट एयर फाप्लुका प्रमुख मिङ्मार शेर्पाका अनुसार उडान शुरु भएदेखिनै फाप्लु–काठमाडौँ यात्रुको चाप पनि उच्च रहेको छ।
अहिले काठमाडौँ–फाप्लुका लागि सो एयरले आइतबार र बिहीबार तथा तारा एयरले सोमबार र बुधबार नियमित उडान भरिरहेका छन् । निगमका महाप्रबन्धक प्रकाश पौडेलले कर्मचारी अभावले निगमले उडान भर्न नसकेको जानकारी दिए।
कर्मचारीको अभावले निगमका दुई जहाजले पूर्वका ताप्लेजुङ, भोजपुर, खानीडाँडा र थामखर्क विमानस्थल खोटाङबाहेक उडान भर्न नसकेको जनाइएको छ । प्रविधिको विकाससँगै हुलाकमार्फत पछिल्लो समय निजीभन्दा पनि सरकारी पत्र बढी आदान प्रदान हुने गरेको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment