रुसको विश्वकै सबैभन्दा घातक, ‘रोक्न नसकिने’ मिसाइल सफल परीक्षण, अमेरिका चिन्तित

डिसी नेपाल
१६ मंसिर २०७७ १३:२५

काठमाडौं। रुसले विश्वकै सबैभन्दा घातक मानिएको मिसाइलको सफल परीक्षण गरेको छ । रुसले गरेको घोषणाअनुसार यो मिसाइलले पश्चिमी देशले अन्तरिक्षमा राखेका भू–उपग्रह समेत उडाउन सक्छ । साथमा रुसले अर्को हतियारको पनि सफल परीक्षण गरेको बताएको छ जसले विश्वयुद्धको स्थितिमा अमेरिकाको कुनै पनि शहरमा प्रहार गर्न सक्छ । अमेरिकाले पनि यो मिसाइल तल्ला कक्षमा रहेका भू–उपग्रह नष्ट गर्न सक्षम रहेको पुष्टि गरेको छ ।

डेलीमेलको रिपोर्टअनुसार रुसी मिडिया रसिया टुडेले ६ हजार माइल प्रतिघण्टाको गतिमा अगाडि बढ्ने द्रुत गतिको हाइपरसोनिक जिरकोन मिसाइलको सफल परीक्षण गरिएको दावी गरेको छ । यो हतियारलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मन पर्ने हतियार मानिन्छ र आणविक युद्धको अवस्थामा यो हतियार अमेरिकाका सहरहरुमा प्रहार गर्न सक्षम छ । अन्तरिक्षमा स्याटेलाइन उडाउन सक्ने मिसाइलको परीक्षण खजाखस्तानको सेरी शागन परीक्षण केन्द्रबाट गरिएको हो भने जिरकोन मिसाइलको परीक्षण ह्वाइट सागरबाट गरिएको हो ।

अन्तरिक्षमा हान्नको लागि बनाइएको नयाँ मिसाइलले आफ्नो निर्धारित विश्वसनीय तरिकाले पूरा गर्न सक्ने परीक्षणमा देखिएको रसियन एरोस्पेस फोर्सेजको फर्स्ट एयर एण्ड मिसाइल डिफेन्स आर्मीका कमाण्डर एन्ड्री ड्योमिनले बताए । अमेरिकाको स्पेस कमाण्डका कमाण्डर जोन रेमण्डले अप्रिलमा रुसी मिसाइल अन्तरिक्षमा अमेरिकाको लागि चुनौती भएको बताएका थिए । रेमण्डले रुसी मिसाइल अन्तरिक्षको तल्लो कक्षमा रहेका भू–उपग्रह नष्ट गर्न सक्षम भएको पुष्टि गरे । ‘अमेरिकी अन्तरिक्ष प्रणाली र यसका सहयोगीहरुको लागि यी वास्तविक खतरा हुन्’ उनले चेतावनी दिए ।

जिरकोन मिसाइल ह्वाइट सागरबाट प्रहार गरिएको थियो र यसले २७९ माइल टाढा ब्यारेन्ट्स सागरमा रहेको लक्ष्यलाई सफल तरिकाले प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । यो हाइपरसोनिक मिसाइल पानीजहाज र जमिनमा रहेको लक्ष्यमा प्रहार गर्नको लागि डिजाइन गरिएको हो । यो मिसाइलको उत्पादन २०२१ मा सुरु हुनेछ । जिरकोन मिसाइलको गति आवाजको गतिभन्दा ८ गुणा बढी हुन्छ । यदि यो मिसाइल मस्कोबाट प्रहार गरियो भने एक घण्टामा अमेरिकाको लस एन्जल्समा प्रहार गर्न सक्छ ।

यो मिसाइलको परीक्षणको ठिक अघि रुसले अमेरिकालाई आफ्नो हदमा रहन चेतावनी दिएको थियो । रुसको यो परीक्षणबाट अमेरिका पनि चिन्तित छ किनकि रुसका रक्षा वैज्ञानिकले यो मिसाइलले ५ मिनेटमै अमेरिकाका केही शहरमा प्रहार गर्न सक्ने बताएका छन् । परीक्षणका क्रममा यसलाई २७९ माइल टाढा रहेको आफ्नो लक्ष्यसम्म पुग्न केवल ४ मिनेट लागेको थियो । यो मिसाइल आफ्नो सिधा बाटो अर्थात ट्रेजेक्टरीको हिसाबले उड्दैन । यसकारण पनि यसलाई ट्रयाक गरेर बीचमै उडाउन सकिँदैन । यसको अत्यन्तै तीब्र गति र उडानको निश्चित बाटो नहुने भएकोले यो मिसाइल निकै घातक हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *