प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’लाई सिंगापुरमा स्वीकृति
बीबीसी । सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने सफा मासु उपभोगका निम्ति स्वीकृति दिएको छ। उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ।
सुरुमा यो मासु केवल नगेटका मात्र प्रयोग गरिनेछ तर कम्पनीले कहिलेदेखि त्यो बजारमा उपलब्ध हुन्छ भनेको छैन। स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण सामान्य मासुको विकल्पको माग बढिरहेका छन्।
बार्क्लेजका अनुसार यस्ता वैकल्पिक मासुको बजार आगामी दशकमा १४० अर्ब डलरसम्म पुग्न सक्छ जुन हालको विश्वव्यापी मासु उद्योगको कूल कारोबारको १० प्रतिशत हुन आउँछ।
वनस्पतिमा आधारित मासुका विकल्पहरू अहिले पनि सुपरमार्केटहरू तथा रेस्टुराँका मेनुहरूमा बियन्ड मिट वा इम्पसिबल फुडका नाममा उपलब्ध छन्।
तर इट जस्टको उत्पादन भने नितान्त भिन्न छ। यो वनस्पतिमा आधारित होइन बरु प्रयोगशालामा जनावरको कोषहरूको कृत्रिम वृद्धि गराएर उत्पादित हो।
ठूलो फड्को
कम्पनीले पछिल्लो निर्णयलाई विश्वव्यापी खाद्य उद्योगको निम्ति ठूलो फड्को भन्दै अरू देशले पनि यसै गर्ने आशा व्यक्त गरेको छ। पछिल्लो दशकमा दर्जनौँ कम्पनीहरूले यस्ता मासु उत्पादनको प्रयास गरे।
एउटा नैतिकरूपमा असल उत्पादनको विकल्प दिएर उपभोक्ताहरूलाई आकर्षित गर्ने उनीहरूको प्रयास रह्यो। ती कम्पनीमध्ये सबभन्दा ठूला दुई इजरेलस्थित फ्युचर मिट टेक्नोलोजिज तथा बिल गेट्सद्वारा समर्थित मेम्फिस मिट्स हुन्।
दुवैले प्रयोगशालामा उत्पादित सस्तो र स्वादिलो मासु बजारमा ल्याउने कोशिश गरिरहेका छन्। कैयौँले यस्ता उत्पादनले वातावरणलाई फाइदा पुग्ने भनेका छन् भने केही वैज्ञानिकले चाहिँ कुनै परिस्थितिमा वातावरणका लागि यो झन् खराब हुनसक्ने पनि बताएका छन्।
बीबीसी सम्वाददाता मारिको ओइ भन्छिन् प्रयोगशालामा उत्पादित मासुले थुप्रै चुनौती बेहोर्न बाँकी नै छ। उनका अनुसार एक त यसको मूल्य महँगो नै छ भने अर्कोतिर आम उपभोक्ताले यसलाई रुचाउने छन् वा छैनन् भन्ने हेर्न बाँकी छ।
सुरक्षित नौलो खाना
सिङ्गापुर फुड एजेन्सीले एउटा विज्ञ समूहले इट जस्टका उत्पादन नियन्त्रण एवम् सुरक्षा परीक्षणबारे आँकडा अध्ययन गरेको बताएको छ। ‘यो तोकिएको परिमाणमा उपभोगको निम्ति सुरक्षित पाइएको छ,’ उसले भनेको छ।
त्यसैले सिङ्गापुरमा यसलाई इट जस्टको चिकन नगेटको रूपमा विक्री गर्न अनुमति दिइएको बताइएको छ। यो मासु उत्पादन गर्ने प्रक्रियामा एन्टीबायोटिक्सको प्रयोग नगरिएको कम्पनीले बताएको छ। उसले अब सिङ्गापुरमा शुरुमा सानो स्तरमा उत्पादन उद्योग खडा गरेर अघि बढ्ने जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment