बोइङको ७३७ म्याक्सलाई उडान अनुमति
रियो दी जेनेरो। बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ। बोइङ ७३७ म्याक्स मोडेलका दुई वटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै २० महिना पहिले यी विमानको उडान विश्वभर नै स्थगित गरिएको थियो।
ब्राजिलको सस्तो विमान सेवा गोलले संचालन गरेको यो विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो अलेग्री शहरको उडान गरेको थियो । तर अन्य विवरण दिन विमान कम्पनीले अस्वीकार गरेको छ।
सन् २०१९ को मार्चमा गोल विमान कम्पनीले अर्को सूचना जारी नहुँदासम्म बोइङ ७३७ म्याक्स ८ शृंखलाका विमानहरु नउडाउने घोषणा गरेको थियो।
इन्डोनेसिया र इथियोपियामा भएका दुई वटा दुर्घटनामा ३४६ जना यात्रुको मृत्यु भएपछि विश्वभर नै बोइङ ७३७ म्याक्स बिमानहरु थन्किएका थिए। यसै महिनाको शुरुमा अमेरिकन एयरलाइन्सले संचालन गरेको ७३७ म्याक्स विमानले अमेरिकी शहर टेक्सासबाट ओक्लाहोमाको ४५ मिनेटको यात्रा गरेको थियो।
गत महिना अमेरिकी नागरिक उड्डयन प्रशासनले ७३७ म्याक्स विमानको व्यवसायिक उडान संचालन गर्न सक्ने गरी यसअघि लगाएका प्रतिबन्धहरु फुकुवा गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment