ट्रम्पद्वारा इजरायल र मोरक्कोबीच द्विपक्षीय सम्बन्ध स्थापनाको घोषणा
वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब मुलुक मोरक्को र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार इजरायल र मोरक्को कूटनीतिक सम्बन्ध स्थापना गर्न सहमत भएका छन्।
अमेरिकी राष्ट्रपतिले पछिल्लो चार महिनामा चारवटा अरब मुलुकबीच इजरायलको कूटनीतिक सम्बन्ध स्थापनाको घोषणा गरेको एपीले उल्लेख गरेको छ। मोरक्को र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि अमेरिकाले पश्चिमी सहाराको स्पेनिश उत्तरी अफ्रिकी भूमिमाथि वर्षौदेखि मोरक्कोले गर्र्दै आएको दावीलाई स्वीकार गरेको छ।
अमेरिकाले इजरायल–अरब सम्बन्धलाई महत्व दिँदै आफ्नो मध्यस्थतामा विभिन्न अरब मुलुकहरुसँग इजरायलको कूटनीतिक सम्बन्ध स्थापना गर्दै आएको छ। अमेरिकी अगुवाईमा यसअघि यूएई, बहराईन र सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
साउदी अरब र इजरायलबीच पनि कूटनीतिक सम्बन्ध स्थापनाका लागि अमेरिकाले सक्रियता देखाएको जनाइएको छ। तर, हालै साउदी राजकुमारले इजरायलमाथि विभिन्न आरोप लगाएका थिए। साउदीले इजरायलले प्यालेस्टाइनीलाई उनीहरुको स्वतन्त्र देश बनाउन सहमति नदिएसम्म मध्यपूर्वको समस्या समाधान नहुने बताउँदै आएको छ।







डिसी नेपाल








Facebook Comment