अमेरिकाको केन्द्र सरकारका एजेन्सीको नेटवर्कमा रुसी ह्याकरको प्रवेश !
काठमाडौं। ह्याकरहरुले अमेरिकाको अर्थ तथा वाणिज्य विभागसहितका संघीय एजेन्सीको नेटवर्कमा प्रवेश गरेका छन् । अमेरिकी अधिकारीहरुले रुसी सरकारसँग सम्बद्ध ह्याकरहरुले संवेदनशील डाटा हात पार्नको लागि साइबर सुरक्षाका कमजोरीहरुको फाइदा उठाइरहेको चेतावनी दिएको केही दिनमै यो आक्रमण भएको हो । अमेरिकाको संघीय जाँच ब्यूरो (एफबीआइ) र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको साइबरसेक्युरिटी विभागले यसको जाँच गरिरहेका छन् । विशेषज्ञहरुले ह्याकरहरु अमेरिकाका सरकारी एजेन्सीको नेटवर्कको धेरै भित्रसम्म पुगिसकेको बताएको युएसए टुडेले जनाएको छ ।
‘यो अहिलेसम्मकै गम्भीर साइबर आक्रमण हुन सक्छ’ साइबर सेक्युरिटी विज्ञ दिमित्री अल्पेरोभेचले भने । एउटा प्रमुख साइबर सेक्युरिटी फर्मले ह्याकरहरु आफ्नो नेटवर्कभित्र प्रवेश गरेर आफ्ना ह्याकिङ टुलहरु नै चोरी गरेको खुलासा गरेको केही दिनमै यो घटना भएको हो । फायरआइ नामको त्यो साइबर सेक्युरिटी फर्ममा ह्याकिङको पछाडि रुसी ह्याकरहरुको हात हुन सक्ने कैयौं विज्ञहरुले शंका गरेका छन् । यो साइबर सेक्युरिटी फर्मले अमेरिकाका संघीय, राज्य स्तरका र स्थानीय सरकारका निकाय तथा बहुराष्ट्रिय कम्पनीहरुलाई साइबर सुरक्षा सेवा उपलब्ध गराउँछ ।
अहिले अर्थ र बाणिज्य विभागमा भएको ह्याक तथा फायरआइमा भएको ह्याक निकै लोकप्रिय सर्भर सफ्टवेयर सोलारविन्ड्समा भएको हो । यो सफ्टवेयर लाखौं संस्थाहरुले विश्वव्यापी रुपमा प्रयोग गर्छन् । अमेरिकामै ५ सयभन्दा बढी कम्पनी र अमेरिकी सरकारी एजेन्सीहरुले पनि यो सफ्टवेयर प्रयोग गर्छन् । अमेरिका सरकारको नेशनल सेक्युरिटी एजेन्सी एडभाइजरीले रुसी ह्याकरहरुले अमेरिकी संघीय एजेन्सीको नेटवर्कमा कमजोरीको फाइदा उटाउँदै प्रोटेक्टेड डाटासम्म पहुँच पुर्याएको चेतावनी दिएको एक हप्ताभन्दा कम समयमै यो आक्रमण भएको हो ।
अमेरिका सरकारले भने यो आक्रमणको पछाडि रुस जिम्मेवार रहेको प्रस्ट रुपमा भनेको छैन र यो आक्रमणको जिम्मेवार को हुन सक्छ भन्ने विषयमा धेरै बताएको छैन । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्त जोन उल्योटले एक वक्तव्यमा यो विषयमा जिम्मेवारको पहिचान गर्न र सम्भावित क्षति रोक्न सरकारले सबै आवश्यक कदमहरु उठाइरहेको बताएका छन् । अमेरिकाको साइबरसेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीले यो आक्रमणबाट प्रभावित भएका एजेन्सीहरुलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइरहेको बताएको छ ।







डिसी नेपाल








Facebook Comment